• १२ साउन २०८१, शनिबार

महसुल नबुझाएपछि हाइमाष्ट लाइट काटियो

blog

बाँकेको खजुरामा हाइमाष्ट लाइटको विद्युत लाइन काट्दै कर्मचारी । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत १४ गते  । बाँकेको खजुरा गाउँपालिमा जडान गरिएका हाइमाष्ट लाइटको लाइन काटिएको छ । गतवर्ष विभिन्न वडाका मुख्य चोकमा स्थापना गरिएका हाइमाष्ट लाइटको विद्युत महसुल नबुझाएपछि लाइन काटिएको नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र खजुरा नोलाइट शाखाका प्रमुख हीरामणि घर्तीमगरले जानकारी दिनुभयो । 

प्रमुख घर्तीले भन्नुभयो, ‘लामो समयसम्म विद्युत महसुल भुक्तानी भएपछि बाध्य भई लाइन काटेका छौँ, यसरी लाइन काट्नु हाम्रो रहर नभई बाध्यता हो ।’ विद्युत लाइन भुक्तानीका लागि वडा, पालिका र व्यवस्थापन समिति कसले तिर्ने भन्ने अन्योल देखिएकाले सुरुवातमै लाइन काट्नुपरेको प्राधिकरणले जनाएको छ । 

खजुरामा गतवर्ष जडान भएका ६ वटा हाइमाष्ट लाइटको जरिवानासहित तीन लाख २१ हजार २९ रुपियाँ विद्युत महसुल बाँकी छ । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाएको छ ।  खजुरामै लामो समयसम्म विद्युत महसुल नबुझाउने एउटा सामुदायिक वन समूहको लाइन काटिएको छ । 

चालु आव २०८०–८१ मा खजुरा क्षेत्रमा एक करोड चार लाख ७४ हजार १९१ रुपियाँ विद्युत महसुल बुझाउन बाँकी भएपछि ६४६ जना ग्राहकको लाइन काटिएको छ । तीमध्ये ५५८ जना सम्पर्कमा आएर लाइन जोडेको कार्यालय प्रमुख घर्तीमगरले बताउनुभयो । 

उनीहरूबाट एक करोड १८ लाख २४ हजार ८६० रुपियाँ असुल गरिएको छ । लाइन काटिएका ग्राहक ६ महिनासम्म सम्पर्कमा नआए कालोसूचीमा राखेर मिटरबक्स तान्ने गरिएको छ ।