• १५ वैशाख २०८१, शनिबार

विद्यार्थीको पढाइ शुल्क गाउँपालिकाले तिरिदिने

blog

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (दायाँ) र क्याम्पस प्रमुख सजन पौडेल सम्झौतापत्र आदान–प्रदान हुँदै ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १४ गते । ताप्लेजुङको फक्ताङ्लुङले गाउँपालिकाले पालिकाभित्रका स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क बेहोर्ने भएको छ । स्नातक तह अध्ययन गर्दा विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाले जिल्लास्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पालिकाभित्रका विद्यार्थीको पढाइ शुल्क बेहोरिदिने भएको हो । स्नातक तह अध्ययनरत विद्यार्थीको पढाइ शुल्क बेहोर्नेगरी गाउँपालिका र पाथीभरा क्याम्पसबिच सम्झौता भएको छ ।

गाउँपालिकाभरिका स्नातक तहमा अध्ययनरत विद्यार्थीको सबै शुल्क पालिकाले बेहोर्नेगरी मङ्गलबार सम्झौता भएको पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेलले बताउनुभयो । क्याम्पस प्रमुख पौडेलका अनुसार हाल पाथीभरा क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १२८ रहेका छन् । 

सो सङ्ख्यामा रहेका विद्यार्थीले क्याम्पसलाई बुझाउनुपर्ने अध्ययन शुल्क गाउँपालिकाले बेहोर्ने भएको पौडेलको भनाइ छ । उहाँकाअनुसार स्नातकोत्तर तह अध्ययनका लागिसमेत विद्यार्थीको क्याम्पस शुल्क गाउँपालिकाले नै बेहोर्नेगरी प्रक्रिया अगाडि बढाइने भएको बताइएको छ । 

यसरी कक्षा १२ भन्दा माथिको उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले बुझाउनुपर्ने शुल्क स्थानीय सरकार अर्थात् पालिकाले बेहोर्नेगरी भएको कार्यादेशमा पहिलो पटक भएको क्याम्पस प्रमुख पौडेलले बताउनुभयो । 

यता दुर्गम क्षेत्र तथा वर्गीय परिवारका विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्कका कारण उच्च शिक्षा अध्ययनमा बाधा नपुगोस् भन्ने उद्देश्य राखेर पालिकाले स्नातक तह अध्ययनरत विद्यार्थीको शुल्क तिरिदिने भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । 

अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाको शिक्षा नीति बनाएर स्नातक तहमा अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीको शुल्क पालिकाले बेहोर्ने भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये फक्ताङ्लुङ गाउँपालिका सबैभन्दा दुर्गम र बिकट भौगोलिक बनावट भएको पालिका हो । 

पढाइ खर्च (शुल्क) व्यवस्थापन गर्न नसक्ने परिवारका विद्यार्थीले माध्यमिक तहभन्दा माथिको अध्ययन छोड्नुपर्ने अवस्था रहेको थियो । यसैगरी फक्ताङ्लुङ गाउँपालिकाले पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय व्यवस्थापनका लागि एक–एक थान कम्प्युटर र प्रिन्टरसमेत उपलब्ध गराउने भएको छ ।