• १६ वैशाख २०८१, आइतबार

हजुरआमा, आमा र छोराछोरी सँगै एसइई दिँदै

blog

काल्पनिक चित्र

रमेश गिरी

भक्तपुर, चैत  १३ गते । सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुग्नुभयो । रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आउनुभएकी उहाँ यतिबेला नाति उमेरका किशोर किशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदै हुनुहुन्छ । 

श्रीमान् पण्डित्याइँ गर्ने, छोराबुहारी र नातिनातिना लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उहाँ मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना हुनुभएको थियो । सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उहाँ यहाँसम्म आइपुग्नुभएको हो ।

“सानैदेखि पढ्ने इच्छा थियो । रामेछापमै भाइलाई विद्यालय पुर्‍याउन जाँदा कक्षा ३ सम्म त पढेँ”,  उहाँले भन्नुभयो, “त्यसपछि छोरी मान्छेले पढ्नुहुँदैन भनेर छुटाइदिनु भयो । अठार वर्षमै विवाह भयो । त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो ।” उहाँका छोराबुहारी र नातिनातिना अहिले अष्ट्रेलियामा हुनुहुन्छ । 

उहाँ त एउटा उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । विगतका वर्ष जस्तै यसवर्ष पनि आस्था महिला विद्यालयबाट उहाँ जस्ता १२ जना हजुरआमा एसइई दिँदै हुनुहुन्छ । बिहान र साँझ घरको काम सकाएर उहाँहरू बाँकी समय पढाइमा बिताउनुहुन्छ । त्यसमध्येकी एक हुनुहुन्छ,  ३८ वर्षे अम्बिका अधिकारी । उहाँ घरको सबैकाम सकेर दिनभर पढाइमा व्यस्त हुनुहुन्छ । 

करिष्मा आँटले साहस दियो

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसइई दिएको समाचारले उत्साहित बनायो । सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आउनुभएकी उहाँको विवाहपछिको पढाइ छुटे पनि पढ्ने रहर भने छुटेको थिएन । 

तामाङ भन्नुहुन्छ, “पढ्ने रहर मरेकै थिएन,  कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्ने गर्थे, एकदिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसइई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ, यो विद्यालय देखेँ ।  भोलिपल्टै विद्यालय आएँ र पढ्न सुरु गरेँ ।”

उहाँ बिहान घरको सबै काम सकाएर छोरीलाई प्ले ग्रुपमा राखेर १० बजेको विद्यालय भेट्टाउन पुग्नुहुन्छ । साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्नुहुन्छ । सुरुमा गाई र बाख्रा पालेर बस्न सुझाव दिनेहरू अहिले उहाँको आँट देखेर प्रशंसा गर्ने गरेको उहाँले सुनाउनुभयो । “देवर र देउरानीले पनि पढ्नका लागि ऊर्जा थप्नुभएको छ । परिवारको साथ र सहयोगले पढ्ने रहर पूरा हुँदैछ”, उहाँले भन्नुभयो । 

आमा र छोरीसँगै एसइईको तयारीमा

जिरी दोलखा घरभई हाल सूर्यविनायक नगरपालिका‐४ हर्षचोक बस्दै आउनु भएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसइई परीक्षा दिने तयारीमा हुनुहुन्छ । कक्षा ५ सम्म माइतीमै पढेकी उहाँले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसइईमा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ । 

एसइई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उहाँले सुरुमा घरबाट पढ्न नजाउभन्दा भागी भागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाउनुभयो । 

आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उहाँले भन्नुभयो, “परीक्षा नजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउँछिन्, एसइई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ, छोरीको नर्स पढ्ने लक्ष्य छ ।”

खोटाङ घरभई हाल सूर्यविनायक‐३ बालकोट बस्दै आउनुभएकी ५२ वर्षकी शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाउनुभएको छ ।  श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्वाह नगरी विद्यालय आएको सुनाउँदै उहाँ पहिला कुरा काट्नेहरू अहिले प्रशंसा गर्न थालेको बताउनुहुन्छ ।

जेठानीले यसै विद्यालयबाट एसइई दिएपछि श्रीमान् आफैँले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घरभई बालकोट आइपुग्नुभएकी ४० वर्षीया जुनकिरी थापामगरले सुनाउनुभयो । 

त्यस्तै, कथा ४२ वर्षे भवानी भुजेलको पनि छ । उमेरले चार दशक कटे पनि उहाँमा पढ्ने जाँगर भने मरेको छैन । साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आउनुभएकी उहाँलाई बैङ्कबाट अवकाश प्राप्त श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसइईसम्म आइपुगेको बताउनुहुन्छ । 

वि.सं २०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सर्नुभएकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्त्व बुझेर यही स्कुलबाट पढाइ सुरु गरेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमान्को सहयोग, १२ कक्षा पढ्दै गरेको छोराछोरीले सिकाउँदा पनि दिमागले टपक्क टिप्न नसक्ने गरेको बताउँदै एसइई उत्तीर्ण गर्ने आँट भने रहेको बताउनुहुन्छ । 

दोलखा हुँदै बालकोट बस्ने २७ वर्षीया कल्पना विक अरूसँग हेपिएर बस्नु हुँदैन, अपूरो शिक्षा पूरा गर्नुपर्छ, पढ्ने रहरलाई मार्नुहुँदैन भन्ने लागेर यहाँ आउनेबाटै विद्यालय आएर भर्ना भएको बताउनुहुन्छ । कक्षा ९ देखि स्नातकसम्म पढ्दै गरेको छोराछोरीले पढ्न सघाउने गरेको बताउँदै उहाँले एसइईको नतिजा आएपछि भावी लक्ष्य निर्धारण गर्ने बताउनुहुन्छ । 

इच्छालाई उमेरले छेक्दैन भन्ने ४४ वर्षीया विष्णु बर्मेलाई छोराले स्कुल भर्ना गरिदिएपछि एसइईको सङ्घारमा आइपुगेको बताउनुहुन्छ । ओखलढुङ्गाबाट मध्यपुरथिमि चारदोबाटो बस्दै आउनुभएकी उहाँलाई श्रीमान् र छोराछोरीको सहयोगले परीक्षामा उत्साह थपेको बताउनुहुन्छ ।

सिङ्गो परिवार तरकारी खेतीमा लाग्दै आउनुभएकी मध्यपुरथिमिकी स्थानीयवासी ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसइईपछि पूरा हुने बताउनुहुन्छ । छोराछोरी स्नातक तहसम्म पढाउनुभएकी उहाँले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरेपनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ । 

यही विद्यालयबाट एसइई परीक्षाको तयारीमा रहनुभएका राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरूले नै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटेपनि एसइई परीक्षा उत्तीर्ण हुने अठोट राख्नुभएको छ । विसं २०६९ देखि एसइई परीक्षामा सहभागी हुँदै आएका यस विद्यालयका हजुरआमाहरूले अहिलेसम्म १२ औँ समूहसम्म आइपुग्दा एक सय ६२ जनाले एसएलसी तथा एसइई परीक्षा दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताउनुभयो । 

अहिलेसम्म यहाँ पढ्नेमध्ये ५० प्रतिशत आमाहरूले कक्षा १० माथिको उपल्लो कक्षामा पढ्ने अवसर जुराएको बताउनुभयो । यस वर्षबाट ग्रेडिङ सिस्टम हटाउँदा भने परीक्षार्थी आमा र हजुरआमाहरूको मन अलि खस्किए पनि परीक्षा पास गर्ने आँट भने उत्तिकै रहेको बताउनुभयो । बिहानी र दिउँसो गरेर सञ्चालन हुँदै आएको विद्यालयमा पढ्न नपाएका र पढ्ने रहर भएका आमा र हजुरआमालाई पढाउने १४ जना शिक्षिकाहरूको मेहनत निकै ठुलो छ । विद्यालयमा धेरै महिला आउने गरे पनि भाडाको भवनमा बस्नु पर्दा समस्या आएको र आफ्नै भवन नहुँदा धेरै समस्या भोग्नु परेको विद्यालयकी संस्थापक रविना कार्कीले बताउनुभयो ।

स्थापनाकालदेखि विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत कविता श्रेष्ठले विद्यालयमा आउने महिला एकदमै पढ्न इच्छा बोकेर आउने र धेरै मेहनत गर्ने गरेको बताउनुभयो । बच्चालाई पढाउनभन्दा धेरै मेहनत आमाहरूलाई पढाउनु भएको बताउनुभयो । रासस