• १७ जेठ २०८१, बिहिबार

पैँतिस वर्षको साइनो (इतिश्री)

blog

नयाँ सडकको पिपलबोट, विशालबजार दिनहुँ आउजाउ गर्ने थलो जस्तै बनेका थिए । पिपलबोटसँगै विशालबजार सामुन्ने अवस्थित गोरखापत्रको पहेँलो रङको सोतो परेको भवन आकर्षणको केन्द्र  थियो । पिपलबोट र विशालबजारमा जस्तै सहजै पाइला कहाँ टेक्न सकिन्थ्यो ! र धक लाग्ने, पाइला टेकेपछि एक किसिमले छाती ढक्क हुने नजानिँदो गौरवबोधले । साहित्यमा पाइला नटेक्दै गोरखापत्रको बखान र महìव सुनेको । विदेश जान भिसा चाहिए जस्तै गोरखापत्रसँग पहिलो साइनो सम्पादकलाई चिठीबाट जोडियो, यसो भनौँ गोरखापत्रसँग साइनो जोड्ने प्रवेश मार्ग । सम्पादकलाई चिट्ठी स्तम्भमा नाम छापिँदा पनि केके न जिते जस्तो हुने । यसअघि एसएलसीको रिजल्टले जोडिन पुगेको गोरखापत्र, भूगोलपार्कको भित्तामा गोरखापत्र टाँसिएको हेर्न जाने दिन पनि थिए । त्यही गोरखापत्रको भवनको मुख्य आकर्षण थियो मधुपर्कको कार्यकक्ष । गोरखापत्रमा त सहज थियो आउजाउ, अनेक उपाय हुन्थे चोटा कोठा चाहार्ने, मधुपर्क जानु वा छिर्नु भन्या त महाभारतै थियो, कुनै माध्यम  नै थिएन । साहित्यमा कलम चलाएर गोरखापत्रमा लेख्न थालेपछि बिस्तारै मधुपर्कको कोठा पनि  सहज हुन पुग्यो, लेखकको नाताले ।  चालिसको दशकको आधाउधीको बखत त हो ।

साहित्यकार रत्नदेव शर्माका बारेमा के तपाईं रत्नदेव शर्मालाई चिन्नु हुन्छ ? शीर्षकको लेख लिएर मधुपर्कका तत्कालीन सम्पादक कृष्णभक्त श्रेष्ठको कक्षमा पुगेको थिएँ । हातमा लेख लिएर पढेपछि उहाँले तपाईंको लेखन शैली पत्रकारिता शैलीको रहेछ, मधुपर्कलाई भन्दा गोरखापत्रको शनिवारीयलाई दिनु भनेपछि हुत्तिएर गोरखापत्रको कोठामा पुगेको र शनिवारीयमा त्यो लेख छापिएपछिको खुसी मेरा लेखनका आरम्भिक दिन थिए, मेरा खुसीका खुड्किलाहरू थिए, साहित्यमा अझै लेखौँ भन्ने हौसला थिए । मधुपर्क मासिकको कक्षमा घुम्ने मेचमा प्रभावशाली हाकिमका अघिल्तिर झुम्मिएका हुन्थे अनेकथरी मान्छे, साहित्यकार, कलाकार, पत्रकार । म पनि मिसिन पुग्थेँ बेलाबखत । नाम चलेका र साहित्यमा पाइला चालेका त्यही भेटिन्थेँ । कुमार ज्ञवाली, मनु ब्राजाकी, उपेन्द्र श्रेष्ठ, कुन्दन शर्मा यस्ता अनेकौँ सम्मानित नाम छन् त्यहाँ भेटिनेहरूको ।  

मधुपर्कको पाना, हाकिमको व्यक्तित्वले गर्दा मधुपर्क सपना र लक्ष जस्तै थियो मेरा लागि । बिस्तारै शनिवारीयमा पछि रमाइलो शुक्रबारमा नियमित लेख्न थाल्दाथाल्दै गोरखापत्र दैनिकमा उपसम्पादक बन्न पुगियो २०४९ सालको साउन १६ गते । गोरखापत्रमा जागिर  खाएको २५ वर्ष बितिसकेपछि अचानक तत्कालीन महाप्रबन्धक एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायले ‘दाइ अब मधुपर्कको सम्पादक बन्नुप-यो’ भन्ने प्रस्ताव मेरा लागि एक किसिमको त्रासदी बन्न पुग्यो, मित्रवत् र दाजु भनेर सम्बोधन गर्ने भएकाले पनि होला अलि उत्तेजित हुँदै भनेँ, “के कुरा गर्नु हुन्छ, गोरखापत्रको विशाल फाँटमा काम गर्न छाडेर मासिक प्रकाशनमा गएर खुम्चिनु ? यो कुरै नगर्नुस् ।” त्यतिखेर त्यस्तै सोचाइ थियो, आफूले लामो समय काम गरेको गोरखापत्र चटक्क छाड्नुपर्दाको नजानिँदो पीडा पनि होला । 

“हाकिम भएर बस्ने नि दाइ, मधुपर्कको स्वरूप चेन्ज गर्ने, अझ पठनीय बनाउने...” वसन्तजीको कुरा मेरा लागि सहज थिएन, एक किसिमको आक्रोश थियो ममा ।

सर पत्र बुझौँ, अब खाजा खानु पर्छ भन्दै सहयोगीले दर्ताबाट चिट्ठी थमाएपछि २०७५ सालको भदौ १ गतेबाट मधुपर्कको सम्पादक बन्न पुगेँ । दुई चार दिन त सकस पनि भयो तर साहित्यमा लागेको, शनिवारीय परिशिष्टमै दुई दशक जति बिताएकाले साहित्य, संस्कृति, कला र यसका लेखक, सर्जकबाट म परिचित थिएँ र मधुपर्क मेरा लागि आफ्नै घरमा बसे जस्तो, आए जस्तो लाग्न थाल्यो । राजनीतिको हावा लाग्दा पिपलबोटको पात मात्र होइन गोरखापत्र भवनको कोठा कोठा पनि हल्लिने, हल्लिनेभन्दा पनि हल्लाउन खोज्नेहरूले देखाउने चुरीफुरी र अहंको प्रदर्शनको दर्शक कम बन्न सघाउ पु-यायो मधुपर्कको कुना र माथिल्लो तल्लाले गर्दा । साहित्य, त्यसमा पनि मासिक प्रकाशन राजनीतिमा लागेकाहरूको चासै कम हुने, पाए आफ्नालाई बलजफ्ती कुर्सीमा विराजमान गराउन चाहिँ पछि नपर्ने । 

उहिले कृष्णभक्त श्रेष्ठको व्यक्तित्वबाट प्रभावित भएर मधुपर्कमा काम गर्ने सपना २०७५ मा पूरा त भयो । गोपालप्रसाद भट्टराईदेखि जयदेव भट्टराईसम्मको मधुपर्कको  ५६ वर्षे इतिहास साक्षी बनेर रहेको छ पाना–पानामा । आफैँले जिम्मेवारी वहन गरेपछिका मधुपर्क कस्तो भयो, स्वाभाविक चासो हुँदो रहेछ । त्यसो त पाठक प्रतिक्रियाका माध्यमबाट, भेट हुँदा, सामाजिक सञ्जालका माध्यमबाट क्रिया प्रतिक्रिया आइरहन्थे । नढाँटी भन्नुपर्दा आलोचना निकै कम हुन्थे । एउटा लेखकको लेखमा होस् चाहे शुद्धाशुद्धिमा भएको गल्तीले होस् चाहे प्राविधिक रूपले गल्ती भए पनि गल्ती सम्पादककै हुन्छ र त्यसको जिम्मेवारी मैले लिनु पर्छ भन्ने बोध चाहिँ थियो र बेलाबखत खाइएका गाली, सुनिएका–पढिएका टीकाटिप्पणी पनि मार्गनिर्देश नै ठान्थे ।  

२०८० को  अन्तिम समयसँगै औपचारिक रूपले मधुपर्क, गोरखापत्र संस्थानबाट बिदा हुन लाग्दा अनेकौँ सवाल तेर्सिएका छन् । मधुपर्कको स्तर बढाउन, यसको स्वरूप परिवर्तन गर्न के कति सकियो भनेर । सन्तोष कहाँनिर हुने हो, आफैँलाई थाहा छैन । छ वर्षको कार्यकालमा राम्रो गरियो गरिएन, त्यो चाहिँ पाठकले, अरूले मूल्याङ्कन  गर्ने कुरो । 

आफैँले आफैँसँग सन्तुष्ट हुने कुरा चाहिँ मधुपर्कका लागि नराम्रो गरिएन भन्ने हो । गोरखापत्रमा बसेर बिताएका समयको एक चौथाइ समय मात्र मधुपर्कमा बिताइयो र पनि यही समयावधिबाट सन्तोष बढी पाइयो । मूल्याङ्कन  गर्ने, टीका टिप्पणी गर्ने, प्रशंसा गर्ने, सुझाव दिने त अरूको  कुरा । 

आफूले आफैँबाट लिन सक्ने भनेको सन्तोष मात्र रहेछ, जुन मैले मधुपर्कमा बस्दा, मधुपर्कबाट बिदा लिँदा, संस्थानबाट बिदा लिन लाग्दा अनुभूत गरेको छु । विद्यार्थी  समयमै देखेको सपना साकार भएको खुसी सँगसँगै बेलाबखत बादल लाग्थ्यो, जागिर खाएपछि सहनु पर्छ यसै भनेका होइन रहेछ, देख्ने–भोग्नेहरूले त्यसै त कहाँ भन्थे र ? साहित्यको विशाल फाँटमा रमाएका हामी जस्तालाई यस्ता हावा हुण्डरीले  बिथोल्न खोज्दा पनि नबिथोलिने रहेछ । 

मधुपर्कमा औपचारिक रूपले जोडिँदा होस् चाहे यससँग सम्बन्धित नहुँदा पनि मधुपर्कसँगको आत्मीयता थियो र रहिरहने छ । आफूले समय बिताएको भनेर मात्र होइन, लेखनमा ताते गर्दादेखिकै बैसाखी बनेर साथ दिएको साहित्यिक मासिक हो मधुपर्क । 

आफ्नो कार्यकालको पहिलो अङ्क राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषबाट थालिएको यात्रामा अरू अग्रज साहित्यकारहरू केन्द्रित मधुपर्क विशेषको प्रकाशन साहित्यकारहरूप्रतिको सम्मान र श्रद्धा थियो । त्यसो त पहिलो अङ्कमै राष्ट्रकवि कसले बनायो भन्ने दुई लेखकको विवादले सम्पादकको हैसियतले टीका टिप्पणी सहन नपरेको होइन, दायित्व लिएर बसेपछि जिम्मेवार बन्नु पर्छ भन्ने मान्यताले पहिलो अङ्कदेखि पछिल्ला अङ्कसम्म बेलाबखत आइपर्ने टीकाटिप्पणी मेरा लागि, हाम्रा लागि मार्गदर्शन बन्न पुगे र अझ सचेत भएर अघि बढ्न प्रेरित भइयो । यतिखेर आएर मधुपर्कमा यो गरेँ यो यो परिवर्तन गरेँ भनेर भन्नु सान्दर्भिक नहोला । 

लेखक साहित्यकारलाई बढीभन्दा समेट्ने प्रयत्न र बिनापूर्वाग्रह काम गरे झैँ लाग्छ । कसैले उपलब्धि के त भन्ने प्रश्नको जवाफ हो मेरो । 

यहीँनिर आएर मेरा अग्रज, समकालीन, अनुज सबैप्रति मैले कृतज्ञता ज्ञापन गर्नै पर्छ । बाँकी रह्यो मधुपर्कको सम्पादकको जिम्मेवारी लिएर यसको सम्पादकको हैसियतले गरेका कामको मूल्याङ्कनको जिम्मा तपाईंहरूलाई  ।