• २१ वैशाख २०८१, शुक्रबार

गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट

blog

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेट गर्नुहुँदै नेपालका लागि इजरायलका राजदूत हनान गोदर । तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौं, चैत १२ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभयो ।

सोमबार गृहमन्त्रालयमा भएको उक्त भेटमा नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काइ लगायतका विविध विषयमा छलफल भएको थियो ।

गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गर्नुभयो । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गर्नुभयो ।

त्यस्तै, राजदूतले विविन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्नुहुँदै  उहाँसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरूप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।

उहाँहरूबिच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।