• २५ पुस २०८१, बिहिबार

मङ्गोलियामा आँधीबेहरीको चेतावनी जारी

blog

मङ्गोलिया, चैत १२ गते । मङ्गोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ ।

मङ्गलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवी र डोर्नोगोवीमा तीव्र हावा र पहेँलो धुलोको आँधी आउने आशङ्का गरिएको छ । हावाको गति  लगभग ६१ किलोमिटर प्रति घण्टा नाघेको मौसम अनुगमन निकायले जनाएको छ ।

निकायले सर्वसाधारणलाई सम्भावित प्रकोपविरुद्ध अतिरिक्त सावधानी अपनाउन चेतावनी दिएको छ । मङ्गोलियामा कठोर महाद्वीपीय जलवायु भएकाले वसन्तमा हिउँ पर्ने तीव्र हावा र धुलोसहितको आँधीबेहरी आउने सम्भावना बढी हुन्छ ।

वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार हालैका वर्षहरूमा मङ्गोलियामा धुलोसहितको आँधीबेहरीको बढ्दो आवृत्तिको पछाडि जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमीकरण मुख्य कारक हो ।

मङ्गोलियाको सरकारी तथ्याङ्कअनुसार मङ्गोलियाको कुल क्षेत्रको करिब ७७ प्रतिशत जमिन मरुभूमीकरण र वातावरणीय विनाशको असरबाट प्रभावित छ । रासस/सिन्ह्वा