• १३ साउन २०८१, आइतबार

नागरिकबिचको प्रेम, एकता र भाइचाराको पर्व होली

blog

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू

नयाँदिल्ली, चैत १२ गते । होली पर्वले मानिसमा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिने भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले बताउनुभएको छ । 

हर्षोल्लासका साथ रङ खेलेर मनाइने होली पर्व भारतमा यो वर्ष मार्च २५ (सोमबार) परेको छ । पर्वको सुरूवात ‘होलिका दहन’ भनिने आगो जलाउने अनुष्ठानसहित गरिन्छ जसले राक्षस होलिकालाई जलाएको सन्दर्भलाई सङ्केत गर्दछ । 

यो पर्व भगवान् कृष्णप्रति समर्पित छ जसले उत्तर प्रदेशको ब्रज नामक क्षेत्रमा धेरै समय बिताएको विश्वास गरिन्छ । यसले होलीको भावनालाई मात्र नक्कल नगरी राधा र कृष्णको कालातीत प्रेमको प्रतिरूप पनि झल्काउँछ ।

राष्ट्रपति मुर्मूले होली पर्वको पूर्वसन्ध्यामा आइतबार एक सन्देश जारी गरी देश विदेशमा रहेका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना दिनुभएको छ । सन्देशमा उहाँले रङहरू खेलेर मनाइने यो पर्वले आपसी एकता र भाइचाराको भावनालाई जागृत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा होली पर्व एउटा जीवन्त र उल्लासपूर्ण पर्व भएकाले यसले मानव जीवनमा आशा र उत्साह जगाउने बताउनुभयो ।  होलीका विभिन्न रङहरू देशको विविधताको प्रतीक भएको बताउँदै होली पर्वले जनतामा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिई सांस्कृतिक मूल्य मान्यतालाई सुदृढ बनाउन नागरिकलाई प्रेरणा दिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आइतबार होलीको अवसरमा एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले  देशका  सबै नागरिकहरूलाई होलीको शुभकामना दिनुभएको हो । उहाँले भन्नुभयो, “स्नेह र सद्भावका रङहरूले सजाइएको परम्परागत पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह ल्याओस् ।”  रङको यो पर्वले सबैको जीवनमा खुशी ल्याउने र सबैलाई नयाँ जोशका साथ राष्ट्र निर्माणका लागि प्रेरित गर्ने उहाँले बताउनुभयो । 

त्यसैगरी, भारतका सङ्घीय गृहमन्त्री अमित शाहले जनताको जीवनमा सुख, समृद्धि, सद्भाव र नयाँ ऊर्जाको कामना गर्दै रङको पर्व होलीको शुभकामना दिनुभएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले पनि होलीको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ । “होलीले जीवनमा आनन्द, उत्साह र नयाँ ऊर्जाको सञ्चार गरोस्,” सिंहद्वारा एक्समार्फत सम्प्रेषित शुभकामना सन्देशमा उल्लेख छ ।  रासस/एएनआई