• १३ मंसिर २०८१, बिहिबार

होलीलाई लक्षित गरी चेकजाँचमा कडाइ

blog

होलीलाई मर्यादित बनाउन चेकजाँचमा कडाइ गर्दै प्रहरी । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १२ गते । बाँकेमा होली पर्वलाई शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न गर्न प्रहरीले जेकजाँचमा कडाइ गरेको छ । सो क्रममा जिल्लाको नेपालगन्ज, कोहलपुरलगायत जमुनाहा–कोहलपुर राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज–गुलरिया सडक खण्डमा चेकजाँचमा कडाइ पारिएको छ । 

नेपालगन्जमा सामाजिक एवम् धार्मिक सद्भाव बिग्रिन नदिन तथा कुनै सडक दुर्घटना हुन नदिन प्रहरीले उपमहानगरको १० बढी ठाउँमा चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो । 

बाँकेलगायत तराईका जिल्लामा सोमवार हर्षोल्लासका साथ होली मनाइँदै छ । होली मनाउन धेरै मानिस जम्मा हुने तथा समुह बनाएर निस्कने ठाउँको पहिचान गरी सुरक्षा ब्यवस्था कडा पारिएको जनाउँदै डिएसपी डाँगीले अप्रिय घट्ना हुन नदिन सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको बताउनुभयो । 

उहाँले थप्नुभयो, ‘कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन तथा सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ भने समाजका अगुवालाई पनि ध्यान दिन आग्रह गरिएको छ ।’ 

सोही क्रममा कुनै पनि घट्ना दुर्घटना हुन नदिन सोमवार ट्राफिक प्रहरीले  ठाउँ–ठाउँमा सवारी साधन चेकजाँचमा कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले होलीलाई व्यवस्थित बनाउन र सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले जिल्लाका धेरै ठाउँमा चेकजाँचमा कडाइ गरेको बताउनुभयो । 

होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, उच्छृङ्खल गतिविधि गर्ने, सहमतिविना लोला हान्नेजस्ता गतिविधि रोक्न प्रहरीले विशेष निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसअघि नै केही दिन पहिले जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालय बाँकेले छुट्टा छुटटै सूचना प्रकाशित गरी होलीलाई शान्तिपूर्ण र मर्यादित बनाउन गर्नुपर्ने र नगर्नुपर्ने कामबारेमा सर्वसाधारणलाई जानकारी गराइसकेको छ । 

कसैलाई पनि इच्छाविपरीत जबर्जस्ती रङ नदल्न, रङ नछ्याप्न, लोला नहान्न र शान्त, सौम्य र मर्यादित वातावरणमा होली पर्व मनाउन सबैलाई आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।