• १२ साउन २०८१, शनिबार

तीस वर्षपछि हर्क बहादुर घर फर्कँदा परिवारमा खुसीयाली

blog

३० वर्ष पछि घर फर्किएका छोरा हर्क र बुबा नदे कामी । तस्बिर: सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, चैत १२ गते । जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका  ८५ वर्षीय नदे कामी र उहाँका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।

भारतको कोलकताको एउटा अस्पतालमा उपचाररत रहेका हर्कलाई भारत प्रहरी मार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्जा गणेश महराले बताउनु भयो । ‘मामा कोलकतामा उपचार गराई रहनुभएको रहेछ, सन २०१५ देखि मामा अस्पतालमा भर्ना हुनुभएको रहेछ, ‘अहिले मामाको होस आएपछि अस्पतालले जानकारी गराएपछि हामीलाई थाहा भयो गणेशले भन्नु भयो।’

गणेश हर्कलाई लिन भारतको कोलकता समेत जानु भएको थियो । भारतदेखि गणेश सहयोगी बनी घर फर्कने भन्ने सूचना पाएपछि गाउँभरिका आफन्तहरू हातमा माला र टिका लिएर बसिरहेका थिए ।

तीस वर्षपछि छोरा सँग भेट्न पाएपछि बाबु नदे कामीले आँखा बाट आँसु खसालिरहनु भएको थियो। ‘मलाई लागेकै थिएन छोरा सँग भेटघाट हुन्छ भन्ने, उहाँले भन्नु भयो, ‘हामी कहिल्यै भेट्न सक्दैनौ होला जस्ता लागेको थियो, आज भगवानको कृपाले छोरा सँग भेट भयो ।’ 

उमेरले आठ दशक भन्दा बढी काटिसकेका नदे कामीले छोरा घर फर्केपछि खुसीयालीको आँसु रोक्न सक्नु भएको थिएन । नदेका पाँच छोरीहरू र  एउटा मात्रै छोरा  हर्क बहादुर रहनु भएको छ  । उमेरले ६० काटिसकेकी महिमा चनारा आफ्नो भाइ हर्कबहादुर घर आएपछि खुसीको आँसु रोक्न नसकी भाइलाई अङ्कमाल गरी रहनु भएको थियो  । २०५०-०६० को दशकमा हर्क बहादुर  घर बाट बेपत्ता हुनु भएको थियो । भारतको कोलकतामा मानसिक रोगको उपचार गराई रहेको अवस्थामा प्रहरी मार्फत सम्पर्कमा आउनु भएको हो ।

यसरी बेपत्ता भएको ३० वर्ष पछि हर्क बहादुर घर फर्कँदा घर परिवार आफन्तका साथै गाउँघरमा समेत निकै खुसीयाली छाएको छ ।