• १२ साउन २०८१, शनिबार

गुराँसले जङ्गल ढकमक्क

blog

दोलखा समाचारदाता

दोलखा, चैत १२ गते । दोलखाका वनमा अहिले ढकमक्क गुराँस फुलेर जङ्गल राताम्मे भएको छ । जिल्लाको माथिल्लो भूभाग, शैलुङ, कालिञ्चोक, जिरी, बोचलगायतका क्षेत्रमा वनभरि लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ । 

वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन, सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ कसैको ध्यान जान नसकेको गुनासो कालिञ्चोक कुरीका होटल व्यवसायी रमेश पाख्रिनले गुनासो पोख्नुभयो । उहाँका अनुसार जन्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधी हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिले समेत महìवपूर्ण मानिएको छ । चैत वैशाखसम्म यहाँका जङ्गल फूलले सजिएर रहँदा सबैको मन तान्ने गर्छ । 

यहाँका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ । लालीगुराँसको बोटदेखि फूलसम्म विभिन्न खाले औषधी निर्माणका लागि प्रयोग हुँदै आएको छ । कुरीकै अर्का होटल व्यवसायी नवराज पाख्रिनले भन्नुभयो, “यहाँ प्रशस्त लालीगुराँसका जङ्गल रहेकाले यसको सदुपयोग गर्न सके मनग्गे आम्दानीको स्रोत जुट्ने देखिन्छ ।” देशका विभिन्न स्थानमा लालीगुँरासको जुस बनाउने उद्योग स्थापना हुने क्रम बढ्दै गएको छ । प्रचारप्रसारको कमीका कारण तथा सम्बन्धित निकायको ध्यान नजाँदा यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फूल बिक्रीवितरण हुन सकेको छैन ।