• १५ वैशाख २०८१, शनिबार

एक खर्ब चवन्न अर्ब सहुलियतपूर्ण कर्जा बक्यौता

blog

काठमाडौँ, चैत १२ गते । चालु आर्थिक वर्षको २०८०/८१ को माघ मसान्तमा एक खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । समीक्षा अवधिमा एक लाख ३२ हजार ७०६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको २०८०/८१ को माघ मसान्तमा एक लाख ३२ हजार ७०६ ऋणीलाई प्रवाह भएको एक खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको हो ।

यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ५२ हजार ५७४ ऋणीलाई प्रवाह भएको एक खर्ब चार अर्ब ६० करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७७ हजार ६०२ महिला उद्यमीलाई प्रवाह भएको ४७ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ५३० ऋणीको दुई अर्ब १० करोड कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

आव २०८०/८१ को सात महिनामा वाणिज्य बैङ्कको २५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कबाहेक) को दुई खर्ब ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोडको अन्तरबैङ्क कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कको २० खर्ब ५६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाको दुई खर्ब चार अर्ब १२ करोड गरी कुल २२ खर्ब ६० अर्ब ५२ करोडको अन्तरबैङ्क कारोबार भएको थियो ।

गत आवको माघ महिनामा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाबिचको अन्तरबैङ्क कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको छ ।