• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय खुला तेक्वान्दो वैशाखमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत ११ गते । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष/महिलामा समान ६/६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष/महिलामा समान १०/१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन् ।

प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि खेलाडी छनोटको आधारसमेत रहेको छ । समान तीन तीन पुरुष/महिला गरी जम्मा ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुने छन् ।

व्यक्तिगत पुम्सेबाट एक एक पुरुष/महिला खेलाडी छानिने छन् । सिनियरको स्पर्धाबाट समान दुई दुई पुरुष/महिला गरी चार खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्नेछन् । सिनियर तौलसमूहका स्वर्ण विजेतालाई ओलम्पिक तौलसमूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । त्यो प्रतिस्पर्धामा समान दुई दुई पुरुष/महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । शीर्षतीन स्थानमा रहने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार रुपियाँबाट पुरस्कृत गरिने छ । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।