• ६ जेठ २०८१, आइतबार

ल्याब ब्वाइ

blog

बेड नम्बर १०५ मा मेरा आँखाहरू झट्ट पोखिए । कैयौँ वसन्त खेपेको शरीर बेडमा अविचलित छ । शिरमा हिउँ फुलाएर चिसिएका छन् गोडाहरू । टकटकी बाँधेर हेर्दै छु, समयको जाँतोमा पिसिएको उमेरको लीला । दिग्भ्रमित भएकी छु । भ्रान्तिको अवस्थामै बेडनजिकै गएँ । शिथिल भएको कृशकाया शरीर बिस्तारै चल्मलायो । अत्याधुनिक अस्पतालको व्यवस्थित व्यवस्थापनले मेरा आँखा लट्ठिँदै गए । अस्पतालको भव्यताको अनुभूतिले धन्य धन्य भएकी छु । विभ्रमको अवस्थामा अझ अल्झिएँ, गन्तव्य हराएको जहाज झैँ भएकी छु । विभिन्न प्रविधिको चङ्गुलमा बेरिएरको भए पनि श्वास फेरिरहेको थियो त्यो जीर्ण फोक्सोले । हठात् ती वृद्धाका अनुहारमा मेरा दृष्टि सलबलाउन थाले । म झसङ्ग भएँ । बिरामीको क्याबिनमा म कसरी आएँ ? म कहाँ छु ? म को हुँ ? केही मेलो पाउदिनँ । म अन्यमनस्क स्थितिमा भौँतारिएँ । आफ्नो अवस्थाको बोध नहुँदा मेरो सातो उड्यो । समयको डरलाग्दो सुरुङमा हराएकी पथिक जस्तै भएँ । मलाई अनुभूत हुँदै गयो डरको पराकम्पन । मेरो शरीर भर्खरै भुइँचालो आएर थामिएको जमिन जस्तै भयो । मेरा आँखाहरू पिरो भएर आए । दुवै हातले आँखा मिच्न थालेँ । चिरनिन्द्राबाट जुरुक्क उठे झैँ भएका थिए मेरा आँखाहरू । बेडको नजिकै राखिएको मुढामा थचक्क बसेँ ।

नौलो वातावरण, नवीन परिस्थिति । म होस् हराएको मान्छे झैँ भौँतारिएँ । आफ्नै आँगनमा हराएको बालक झैँ थिएँ । म मुढाबाट उठेर बेडको नजिकै गएँ । चकमन्न छ क्याबिन । बेडमा लडिरहेको कायालाई छाम्न थालेँ । बत्तीस मुजा परेका वृद्धाका गाला सुस्तरी सुमसुम्याएँ । ती रूग्ण आँखामा आत्मीयपल झल्कियो । शुष्क भएका गालाहरू चिरपरिचित लागे । म वृद्धाको अनुहारमै हराइरहेँ । इनार जस्ता गहिरा आँखामा मरुभूमिको शून्यता मडारिएर आयो । वृद्धाको मुटु खलाँती झैँ एकोहोरो बजिरहेको भए पनि कताकता मेरो हृदयलाई पुकार्दै छ । म छक्क परेँ । जति जति वृद्धाको मुटु प्रकम्पित हुन्थ्यो मेरो मुटुको चाल पनि उही गतिमा तीव्र हुन्थ्यो । म निकै आकुलव्याकुल भएँ । हतारिएर बेडतिर निहुरिएँ । वृद्धाको छातीमा घोप्टो परेर कान थापेँ । मुटुको धड्कन सुन्न खोजेँ । अचानक मेरो हृदयमा अनौठो कम्पन भयो । मेरो मुटुको गति चल्मल्यायो, संवेदना भर्भरायो । कसैले मेरो छातीमा प्रेमले अङ्कमाल गरेको जस्तै भयो । सम्पूर्ण शरीर कसैले च्याप समाए जस्तो लाग्यो । धाँजा फाटेको खेत जस्तै मेरो मुख र घाँटी भएको थियो । अचानक मेरा आँखामा धूमिल स्मृति जागृत भयो । 

अहो ! कुनै दिन हृदयघात भएर म पनि अस्पताल भर्ना भएकी थिएँ । त्यो दिन मैले यही कपडा लगाएकी थिएँ । हो भगवान कोइरालाले मेरो उपचार गरेका थिए । मैलै झट्ट सम्झिएँ गङ्गालाल हृदय केन्द्रमा उपचार भएको थियो । तर कहिले ? मलाई अस्पताल लिएर आउने मेरी छोरी खोइ ? कता गए मेरा आफन्त ? म आकुलब्याकुल भएँ । स्मृतिमा कोही आएनन् । अनि झट्ट झ्याल खोलेर बाहिरको दृश्य हेर्न खोजेँ । देखिएका जति भौतिक संरचना सबै नौला लागे । मैले टेकेको भूगोल त्यहाँ भए पनि सबै संरचना अपरिचित लागे । यो कस्तो भ्रम ? म तीन छक्क परेँ । डा. कोइरालाले मेरो अप्रेसन गरेको समय कहिले थियो ? स्मृतिको अस्पष्ट ऐनालाई पुछ्दै हेर्न खोजेँ, “अस्पताल बस्दा उनको हृदय भन्ने पुस्तक पढेको मात्र याद आयो ।” सायद म समयको चक्रव्यूहमा नराम्रोसँग हराएकी थिएँ । भूत, वर्तमान र भविष्य एकै ठाउँमा गाँठो परेर बसेकाले जम्मै गन्जागोल थियो । मेरो मानसिक स्थिति गुम्ला जस्तै भयो । केहीबेर क्याबिनमा स्थिर भएर उभिएँ । लामो श्वास फेरेँ ।

गोडाहरू लगलग काँप्न थाले । सत्य के हो स्पष्ट थिएन । रुन खोजेँ अहँ ! आँखामा अथाह खडेरी थियो । आँसु फिटिक्कै झरेन । झट्ट बेडको छेउमा क्यालेन्डर देखेँ । सन् २१२३ जनवरी । क्यालेन्डर हातमा लिएर छट्पटिँदै थिएँ । मलाई सन् २०२३ सम्मको सम्झना छ तर यतिका वर्षहरूमा म कहाँ थिएँ ? किन याद छैन मलाई २०२३ देखिका वर्षहरू । भनन्न रिँगटा लाग्यो । वृद्धाको बेडमा टुसुक्क बसेँ । मेरा आँखा तिर्मिराए । म केही सोच्न नसक्ने अवस्थामा पुगेँ ।

घ¥याक्क ढोका खुल्यो । हतारहतार ढोकाको चेपमा लुकेँ । हे ईश्वर ! म कसरी अनि किन यी वृद्धाको क्याबिनमा छु ? म को हुँ ? यी वृद्धासँग मेरो के सरोकार छ ? केही थाहा छनै । मेरो मन छड्किएको भात जस्तै भएको छ ।

घर कहाँ हो, त्यो पनि थाहा छैन । मस्तिष्क झन्झन् ग¥यो । मेलोमेसो अझ केही भएन ? त्यही बेला एक हुल डाक्टर र नर्स क्याबिनमा छिरे । डाक्टर समृद्धि ब्याच लेखेका अक्षर देखेँ । कति राम्रा मान्छेहरू । सेतो पहिरनमा स्वर्गका परी जस्तै नर्सहरूले घेरिएका डा. समृद्धि बोलिरहेकी थिएन् । 

मेरो नजर अर्काे आकर्षक युवा डाक्टरको नाममा प¥यो । ठ्याक्कै मेरो मुटुको अप्रेसन गर्ने डा.  कोइराला जस्तै अत्यन्तै भद्र तर यी नवयुवक थिए । अब यो प्यासेन्टको उमेर सय वर्ष कम गर्न सकिन्छ । डा. रुसेलको टिमले परीक्षण गरेको भ्याक्सिन हाम्रो अस्पताललाई पठाएको छ । हेरौँ समयलाई कन्ट्रोल गर्न सक्छ कि सक्दैन यो केमिकलले । नेपालमा नै पहिलो पटक परीक्षण हुँदै छ । यो नै पहिलो प्रयोग हो । हुन त मुसा या खरायोमा परीक्षण गर्नु भनिएको छ तर जनावरमा गर्दाभन्दा मान्छेमा गरिएको परीक्षणको नतिजा चाँडो आउँछ । समयलाई आफ्नो इच्छा अनुसार बनाउन सक्छ विज्ञानले । यी वृद्धा कोमामा गएको १०० वर्ष भयो । कोमामा जाँदा जम्मा ४५ वर्षकी थिइन् । अब पुनः यो केमिकलले यिनलाई ४५ वर्षको बनाउने छ ।” 

डा. समृद्धि बोलिन्– “अनि मेमोरी त छैन नि । कोमामा गएको पनि १०० वर्ष भइसकेको छ । संवेदना, माया, प्रेम पनि फर्किन्छ त ?”

“कसै कसैको फर्किन्छ तर धेरैको फर्किदैन भन्ने अनुमान छ हेरौँ । तर प्राकृति रूपमा मानवीय संवेदना नफर्किए पनि ल्याबमा उत्पादित हार्माेनहरू प्रयोग गर्न सकिन्छ । डन्ट वरी डा. समृद्धि, हाम्रो ल्याबमा जम्मै संवेदनाहरू उपलब्ध छन् । संवेदना पनि कतै मानवमा खोजेर पाइन्छ र । ल्याबमा उत्पादन गर्नु पर्छ ।” 

“डा. शर्मा तर हरेक संवेदनाका लागि बेग्ला बेग्लै भ्याक्सिन लगाउनु पर्छ होइन र ।” 

“यस, यु आर राइट ।” आजभन्दा ठ्याक्क १०० वर्ष अगाडि रोग विरुद्धको भ्याक्सिन दिइन्थ्यो भने अबका मान्छेलाई रोग लाग्दैन तर मान्छेको मानवीय गुणहरू शनैः शनैः लोप हुँदै जान्छन् । मान्छे नै रोग बन्छ, त्यसैले हरेक महिना उसले हरेक मानवीय संवेदनाहरू प्राप्त गर्न औषधी र भ्याक्सिन लगाउनु पर्छ ।” 

ढोकाको चेपबाट सबै सुन्दै छु । नौलो युगको संवाद । आजभन्दा १०० वर्षअगाडि ? अहो ! म त १०० वर्ष अगाडि पो पुगेकी रहेछु कि क्या हो ? अलमल पर्दै डाक्टरका कुरा फेरि सुन्न थालेँ–

“आर यु रेडी ?” 

“यो वृद्धामा पहिलो प्रयोग गर्न अस्पताल प्रशासनले मञ्जुरी दिएको छ । कोही छैनन् यी वृद्धाको । प्रयोग असफल भए पनि विरोध गर्ने कोही आउँदैनन् । डाक्टरका जम्मै कुरा सुनेर पनि मेलोमेसो केही पाइनँ । टाउको फुट्ला जस्तै भयो । अनि फुत्त बाहिर निस्किएर करिडोरमा पुगेँ । अहो ! पाटन अस्पताल होर्डिङबोर्ड देखेँ । नेपाली र अङ्ग्रेजी दुवै अक्षरमा लेखेको थियो तर मैले देखेको भोगेको अस्पताल थिएन । युरोपको कुनै भव्य अस्पताल जस्तै लाग्यो । अस्तव्यस्त केही थिएन । फोहोर कतै थिएन । मान्छेहरू सबै स्मार्ट र सफा थिए । सबैको उमेर उस्तै । बुढाबुढी कोही थिएनन् । 

मस्तिष्कमा अचानक मेरो प्रसव पीडा याद आयो । ट्याक्सीमा छटपटाउँदै म आएको मेरो अतीत अस्पतालको प्राङ्गणमा देखेँ । पाटन अस्पतालको प्रसूति वार्डमा नै त हो मैले भोगेको प्रसव पीडा । मेरो सन्तानलाई पहिलो चोटि यी हातले समातेको न्यानोपन अझ ताजै छ । मेरो छातीमा दुध भरिएर आयो । मैले मेरी छोरीलाई स्तनपान गराएको देखेँ । थाङ्नामा लपेटिएकी भर्खर जन्मिएकी छोरी । मैले अनुभूत गरेँ मेरो सुत्केरी शरीर । तर खोइ मेरो सन्तान ? कता छे मेरी छोरी ? अतीत र वर्तमानलाई भेट्न नसकेर मलाई औडाहा भयो ।

छोरी जन्माएको अस्पताल हो यो । मातृत्वले पग्लिएको पल यही अस्पतालको आँगनमा छ । मैले अस्पताललाई मात्र उभिएर हेर्दा पनि स्मृतिमा मेरी छोरी नाच्न थाली । मेरो अतीतले मलाई चपक्क समात्यो, जसरी समात्छ चुम्बकले फलाम । सन्तान जतिकै स्मरणीय हुने रहेछ सन्तान जन्मिएको ठाउँ, मलाई छोरी भेटेको जस्तै लाग्यो । आँखा चिम्लेर छोरी जन्माएको वार्डतिर हुत्तिँदै गएँ । प्रसूति कक्षको बेड नम्बर ५१ खोजेँ । अँह, मैले देखेको अस्पतालको नमुना कतै छैन, जम्मै कुरा साटेर ल्याए जस्तो छ । सोध्न खोजेँ, बोल्न खोजेँ मेरो आवाज सायद कसैले सुनेनन् । 

अनि मधुरो स्मृतिमा गोता लगाउन थालेँ ।

जनै पूर्णिमाको दिन दिउँसो २ः५७ मिनेटमा पाटन अस्पतालमा पहिलो सन्तानका रूप छोरी जन्मिएकी थिई । टुपुक्क मिलेको नाक, चुटुक्कको मुहार, सुन्दर फूल जस्तै । छोरीलाई मेरो हातमा नर्सहरूले दिएर हाँस्दै भनेका थिए, “कति राम्रो नानी पाएको । नानी पाउनेबेलामा पनि आमा चाहिँको अनुहार उज्यालो थियो त्यसैले छोरी पुतली जस्तै छ ।” कानमा प्रतिध्वनित भए, अतीतका संवाद । वर्तमान समयलाई तिरोहित पा¥यो विगतले । मातृत्वको स्मृतिले म निथ्रुक्क भिजेँ । करूणाविगलित भएँ । मेरा आँखाबाट हर्षाश्रु बगिरहे । आँखा उघारेर देखेको वरिपरिको दृश्य र आँखा बन्द गरेर देखेको दृश्यमा तादत्म्य केही थिएन । अतीत कानमा कराइरह्यो । मैले कान बन्द गर्न खोजेँ । आवाज बन्द हुने नामोनिसान थिएन । बाहिरको आवाज भए पो बन्द होस् । म भित्रबाट डरलाग्दो आवाज आएको थियो । मैले मेरी छोरीलाई समयको चव्रmसँगै हुर्काएँ, बढाएँ । ऊ प्राकृतिक थिई । मेरो मातृत्व अनुभूतजन्य थियो । म अतीतको रमणीय फूलबारीबाट फुत्त निस्किन सफल भएँ । अस्पतालमा कृत्रिमता अत्यधिक छ । अत्यासिलो भयो मेरो मन । 

अस्पताल परिसरमा जता हेर्छु मेसिनले निकालेका जस्ता मान्छेहरू हिँडिरहेका छन् । कस्तो अचम्म सबैको उमेर एकै हो कि जस्तो लाग्यो । अस्पतालको भौतिक संरचनाको मेलोमेसो छैन । कताबाट कता जाने भेउ पाउँदिनँ । “कताको जिली कताको गाँठी” भन्ने अवस्थामा पुगेकी छु । केहीबेरपछि हिम्मत जुटाएँ । जेपर्ला पर्ला फनफनी अस्पताल घुम्छु, कसो नदेखिएला भन्दै म घुम्न थालेँ । अस्पतालभरि प्रसूति वार्ड कतै थिएन । नजिकै एउटा ल्याब देखेँ । साना साना बच्चाहरू सिसाको भाँडामा चल्मलाइरहेका थिए । सुटुक्क ल्याबभित्र छिरेँ । मलाई कसैले देखेनन् । म ल्याबको नौलो संसारमा विस्मित भएँ । दुई जोडी महिला र पुरुष डाक्टरसँग सल्लाह लिँदै रहेछन् ।

“हाम्रो छोरो आज नौ महिनाको भयो, आज उसलाई घर लैजान आएको तर डाक्टर बच्चालाई निकै सुन्दर र लोभलाग्दो देखिने हार्माेनहरू इन्जेक्ट गरिदिनु होला । हामी हाम्रो सन्तानलाई मोडल बनाउन चाहन्छौँ ।” डाक्टर सम्झाउँदै थिए ।

“जति बढी सुन्दर बनाउन खोज्यो उति उसमा प्राकृतिक हार्माेनहरू नष्ट हुन्छन् । मानवीय संवेदनाहरू पनि कमजोर हुन्छ नि, के गर्ने ?” 

“केही छैन, अब मानवीय गुण लिएर यो घर्तीमा बाँच्न गाह्रो छ । मानवता हराएको बस्तीमा किन चाहियो मानवता ? संवेदनाहीन सम्बन्धमा किन आवश्यक प¥यो संवेदना ? बरु प्राकृतिक रूपमा प्राप्त भएको मानवीय गुणहरू पनि नष्ट गरिदिनू । मेरो सन्तान यान्त्रिक होस् बरु । हिजोआज संवेदना भएका केही सन्तान चरम विसादको अवस्थामा पुगेका छन् । हामीलाई त केवल राम्रो र आकर्षक छोरो चाहिएको छ । समाज रूपान्तरण भएर पहिलेको अवस्थामा आउन लाग्यो भने सोचौँला । मानवीय संवेदना चाहिएको खण्डमा पछि ल्याबमा ल्याएर केमिकल इन्जेक्ट गरौँला नि ।” 

म हेरेको हेरै भएँ । कस्तो समयको चव्रmमा म फस्दै थिएँ । जस्तो चाहना ग¥यो उस्तै बच्चा बनाउन सकिने रोबर्ट हो कि मान्छेको बच्चा हो । अब मान्छेका बच्चाहरू सास फेरेका मेसिन मात्र त हुँदैनन् ? बच्चाहरू चल्मलाएको सिसामा अभिभावकको नाम, उमेर र लिङ्ग लेखेको छ ।

प्रायः भ्रूणहरू छोराका धेरै थिए । छोरी भ्रूण त एकाध मात्र देख्दा समाजमा आउन सक्ने उथलपुथल सम्झिएर निक्कै डराएँ ।

नामसहितको एउटा सिसाभित्रको बच्चा लिएर ती डाक्टर आए । अझ चनाखो भएर हेर्दै थिएँ । बच्चालाई सिसाबाट निकाल्दै थिए, बच्चा जोडले हाँस्यो । म छक्क परेँ । मेरो समयमा त बच्चा जन्मिने बित्तिकै जोडले त रुन्थ्यो । बच्चा हाँसेको देखेर आमाबा पो रुन थाले । म चकित भएँ कस्तो उल्टो समय चलेको रहेछ । म किन मेरो समयमा नै मरिनँ ? मैले किन भोग्नुप¥यो यो असामञ्जस्यको समय ? हेर्दै छु मातृत्वको छद्म अनुभव । बधाई दिए एकाअर्कालाई । अङ्कमाल गरे । डाक्टर पनि मक्ख परे बच्चा सकुशल जन्मिएकोमा । लौ खा ! सिसाबाट बच्चा निकालेर महिला आमा भइन् । बाआमाले सोचे जस्तै सन्तान हुने भयो । केही पिर भएन । भविष्य सुनिश्चित भयो । तत्कालै डाक्टरले सोधे–

“कति उमेरको बनाइदिऊँ यो बच्चालाई ?” भर्खरै आमा बनेकी महिला हतारिँदै बोलिनु, “आ ! डाक्टर साहेब बच्चाको गुहुमूत मलाई मन पर्दैन । स्तनपान गराउन पनि सक्दिनँ । बच्चा त दालभात खाएर आफैँ ट्वाइलेट जान सक्ने बनाइदिनू ।” 

डाक्टरले बच्चालाई तीन चार वटा इन्जेक्सन लगाइ दिए । हेर्दाहेर्दै बच्चा त हल्लक्क बढ्यो । म हेरिरहेकी थिएँ, सिसाबाट झिकेको बच्चा त चार पाँच वर्षको बच्चा जसरी खुरुरर दगु¥यो । म हेरेको हेरै भएँ । 

सन् २०२३ मा लौका, फर्सीलाई इन्जेक्ट गरेर हलक्क बढाएको मेरै आँखाले देखेकी थिएँ । 

सन् २१२३ मा मान्छेको बच्चालाई उमेरभन्दा अगाडि हुर्काएको देखेर म अचम्मित भएँ । म चकित चकित भएँ । बाआमा झोलाभरि औषधी र इन्जेक्सन बोकेर हाँस्दै घरतिर गए । म जड भएर ल्याबमै बसिरहेँ । मेरो उपस्थिति कसैले देखेनन् । केही समयको अन्तरालपछि अर्काथरी बाआमा आए । उनीहरूलाई पनि सिसामा हुर्किंदै गरेको बच्चालाई तीक्ष्ण बनाउनु थियो । सिसाबाट आफ्नो बच्चा झिके, अभिभावक बने । बच्चाको आभामण्डल कृत्रिम थियो । बाआमाको रहर अनुसार बच्चामा हार्माेनहरू इन्जेक्ट गरे । आफूलाई चाहिएको उमेरका सन्तान बनाए र दङ्ग पर्दै घर फर्किए । समयको कुरूपता देखेर म विकम्पित भएँ ।

म ल्याबमा बसिरहन सकिनँ । निस्सासिएँ । अनि ल्याबबाट भागेँ । अघिको क्याबिनमा हुर्रिंदै पुगेँ । कोठा खाली देखेँ । अघिको बेड तनक्क पारेर मिलाएको रहेछ । मेरा आँखाले वृद्धालाई खोज्न थाले । बेडमा सुतिरहेकी ती अशक्त वृद्धा कता गइन् होला त ? बेडको मुनि पनि हेरेँ । अँह ! कतै देखिनँ । 

वृद्धा त्यहाँ थिइनन् । हतास भएँ । म कस्तो समयको डोरीले बाँधिएकी रहेछु बुझ्न सकिन एकोहोरो भित्तातिर हेर्दै थिएँ । अचानक बाथरुममा धारा खोलेको आवाज आयो, सतर्क भएँ । बाथरुमबाट गीत गाएको आवाज आइरह्यो । आवाज निकै परिचित लाग्दै गयो । बाथरुमको ढोकामा कान थापेर सुनेँ ।

 सन् २०२३ मा हिट भएको गजल ती वृद्धा गाउँदै थिइन् । जुन मलाई पनि असाध्यै मन पथ्र्याे

“के लत बस्यो मलाई कहिले सुधार हुन्छ । एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ ।” अहो ! यो स्वर त मेरो जस्तो छ त । म पनि बारम्बार यसै गरी गीत गाउँथेँ । यी वृद्धा त १०० वर्षदेखि कोमामा गएकी थिइन् भने कसरी यो गीत गाइन् त ? मस्तिष्क नराम्रोसँग घुम्यो । तर्साउने घरमा त फसेकी छैन ? कि मलाई भूतहरूले बन्दी बनाएर राखेका छन् ? कसैले मलाई देख्दैनन् पनि सुन्दैनन् पनि कि म नै भूत भएँ ? मेरो वास्तविकता के हो ?

म आत्तिएँ । घ¥याक्क बाथरुमको ढोका खुल्यो । 

ती महिला हुबहु म जस्तै थिइन् । त्यो महिला म नै भएको स्पष्ट भयो । उसको हाँस्ने, बोल्ने हिँड्ने सबै तरिका मसँग मिल्यो । म नजिकै गएँ बोलाएँ, छुन खोजेँ अहँ ! सुनिनन् आफ्नै सुरमा गीत गाउँदै बेडमा गइन् । सायद उनले मलाई देख्न सकिनन् । डरलाग्दो गरी चिच्याएँ । पसिनाले लुछुप्प भिजेकी थिएँ । 

“के भयो किन यसरी तर्सिएकी । सपना नराम्रो देखिस् ?” गिलासमा पानी लिएर श्रीमान् नजिकै आएर टाउको सुमसुम्याउँदा पो म होसमा आएँ छु ।