• १६ वैशाख २०८१, आइतबार

प्रतिपक्षमै बसेर सङ्घीयता बलियो बनाउँछौँ

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १० गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब कांग्रेसले प्रतिपक्षमै बसेर संघीयतालाई बलियो बनाउने बताउनु भएको छ । सरकारमा रहँदा सङ्घीयतालाई बल पुग्ने गरी ऐन, कानुन निर्माणमा तीव्रता दिएको दाबी गर्दै उहाँले अब प्रतिपक्षमा बसेर देशको समृद्धि र विकासमा अग्रसरता लिने उल्लेख गर्नुभयो ।

“जति दिन गठबन्धन सरकारमा बस्यौँ, संघीयताका धेरै ऐन संसदमा ल्याउने प्रक्रिया अगाडि बढाएका थियौँ । कतिपय ऐन संसदमा ल्याउने तयारीकै क्रममा हामी सरकारबाट बाहिरिएका छौैँ,” उहाँले भन्नुभयो , “तर पनि नेपाली कांग्रेस देशको पहिलो पार्टीका नाताले सङ्घीयतासँग जोडिएका ऐन, कानुन बनाएर कार्यान्वयन गर्न लाग्छ ।” 

खड्का अघिल्लो सरकारमा उपप्रधान तथा रक्षा मन्त्री हुनुहुन्थ्यो । शनिबार पोखरामा नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उपसभापति खड्काले गठबन्धन भत्किएपछि नेपाली कांग्रेसको अभियानलाई सशक्त बनाउने अर्को बाटो खुलेको टिप्पणी गर्नुभयो । संविधान सबै पार्टीको साझा दस्ताबेज भएकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा उहाँको जोड छ । 

यसैबीच, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश कार्यसमितिको प्रथम अधिवेशनले जितबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षद्वयमा भीमबहादुर दुर र चिज्या श्रेष्ठ, सचिव बुद्धिबहादुर थापामगर र सहसचिवत्रयमा जनसुवा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । अधिवेशनमा गण्डकीका एघार जिल्लाबाट ती सय ७८ प्रतिनिधि सहभागी थिए ।