• १५ वैशाख २०८१, शनिबार

दीपक र सन्तोषीलाई हाफ म्याराथन उपाधि

blog

उपाधि विजेता दीपक अधिकारी र सन्तोषी श्रेष्ठ ।

काठमाडौँ, चैत १० गते । नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले ‘राइट टु प्रोटिन रन’ मा हाफ म्याराथन उपाधि जित्नुभएको छ । शनिबार भएको दौडमा दीपक पुरुष तथा सन्तोषी महिलामा च्याम्पियन बन्नुभएको हो । 

एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा सात मिनेट ३३ सेकेन्डमा पूरा गर्नुभयो । यस्तै साग स्वर्णधारी (पाँच हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की एक घण्टा सात मिनेट ४२ सेकेन्ड समयमा दोस्रो र पर्वतका तीर्थ पुन एक घण्टा सात मिनेट ४३ सेकेन्ड समयमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्का पाँचौं स्थानमा रहनुभयो । 

यस्तै सागकी स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न एक घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाउनुभयो । एक घण्टा २१ मिनेट ५६ सेकेन्डमा दौड सक्दै नेपाल प्रहरीकी राममाया बुढा दोस्रो र एक घण्टा २३ मिनेट ०२ सेकेन्डमा दौड सक्दै एपिएफकी पुष्पा भण्डारी तेस्रो हुनुभयो । 

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपिएफकी फुलमती रानाले पाँचौँ स्थानमा रहनुभयो । पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमश: एक लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

नेपाल भेटनरी सङ्द्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो । आर्मीका मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो ।

सञ्जय श्रेष्ठ दोस्रो, राजेन्द्र राई तेस्रो, सुवास कार्की चौथो तथा श्रीकाश राई पाँचौँ हुनुभयो । शीर्ष पाँचमा रहनेलाई क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

महिला खुला पाँच किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं दोस्रो रआर्मीकी निर्मला केसी तेस्रो हुनुभयो । विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुषपाँच  किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोस्रो र विकेश घिमिरे तेस्रो हुनुभयो । महिलातर्फ तीन किलोमिटरमा कल्पना बुढा, अस्मिता भुजेल र अमिशा राई शीर्ष तीनमा रहनुभयो । 

ह्वीलचेयरतर्फ पुरुष तीन किलोमिटरमा रामकाजी मिजार पहिलो, रमेश खत्री दोस्रो र प्रेमबहादुर विक तेस्रो हुनुभयो । महिलामा ऐश्वर्यकुमारी कुमालले स्वर्ण, यामी झाक्री मगरले रजत र रजनी राईले कांस्य जित्नुभयो । 

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइन, आयोजक सङ्घका अध्यक्ष डा. रामकृष्ण खतिवडा, राइट टु प्रोटिनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भइ पुन:  रङ्गशालामै पुगेर सकिएको थियो ।