• १२ साउन २०८१, शनिबार

पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ

blog

दोस्रो स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिको अवधि करिब डेढ वर्ष पुग्न लागेको छ । यस अवधिमा स्थानीय तहमा सकारात्मक सुधारका सङ्केत देखिएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि भौतिक पूर्वाधार निर्माणले प्राथमिकता पाएको छ । साबिक स्थानीय निकाय रहँदा २०४९ सालमा साबिक लुभु गाविस–७ का वडाध्यक्ष, २०५४ सालमा लुभु गाविस अध्यक्ष र २०७९ सालमा महालक्ष्मी नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हरिगोविन्द श्रेष्ठसँग गोरखापत्रका पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :                                   

नगर प्रमुख निर्वाचित भएको यस अवधिमा भौतिक पूर्वाधारका क्षेत्रमा के के काम भए ? 

नगरपालिकामा २० वटा शाखा छन् । जनप्रतिनिधिको नेतृत्व र अनुगमनमा ती शाखाले सेवा प्रवाह र विकास निर्माणको काम निरन्तर गरिरहेका छन् । यस अवधिमा ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १० किलोमिटर सडक ढलान, १० किलोमिटर ड्रेन निर्माण भएको छ । ५० किलोमिटर सडक स्तरोन्नति भएको, ग्वार्कोदेखि लाँकुरीभन्ज्याङसम्म जाने मूल सडकको आसपासमा जोडिएका सूर्यविनायक र गोदावरी जाने सडक कालोपत्रे भएका छन् । कर्मनाशा खोलामा करिब पाँच किलोमिटर कोरिडोर खोल्ने काम सम्पन्न भएको छ । अब हात्तीवनदेखि एक किलोमिटर कोरिडोर खोल्न बाँकी छ, त्यो पनि प्रव्रिmयामा पुगिसकेको छ । हात्तीवनदेखि बालकुमारीसम्म सहायक रुटका रूपमा विकास गरिसकेका छौँ । भित्री सडकमा ब्लक छाप्ने काम गरेका छौँ । 

खानेपानीका लागि हामीले इमाडोल क्षेत्रमा पर्ने वडा नं. १ देखि ४ सम्म गोदावरी खानेपानी, बोजेपोखरी डिप बोरिङ, राधाकृष्ण खानेपानीलगायतका खानेपानीको मुहानलाई व्यवस्थित गर्दैै छौँ । बाँकी अन्य वडामा पनि खानेपानीको योजना व्यवस्थित गर्ने काम भइरहेको छ । अहिलेसम्म करिब  सात हजार घरधुरीमा खानेपानी वितरण भइसकेको छ भने बाँकी घरमा पनि खानेपानी योजनालाई विशेष महत्त्व दिएका छौँ । वडा नंं. १० स्थित लाँकुरीभन्ज्याङमा बृहत् खेलकुद मैदान निर्माण गर्दै छौँ । 

नगरपालिकाले शैक्षिक क्षेत्रमा ठोस रूपमा के के काम गरेको छ ? 

नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालय १४ र संस्थागत विद्यालय ५१ वटा छन् । ती विद्यालयमा कुल २८ हजार विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सामुदायिक विद्यालय र संस्थागत विद्यायलय एकअर्काका परिपूरक मानेर मासिक रूपमा सामुदायिक र संस्थागत विद्यालयको प्रधानाध्यापकबिच शैक्षिक अध्यापन शैलीका बारेमा अन्तरव्रिर्mया गरी शैक्षिक गुणस्तर सुधार गर्दै आएको छ । सबै सामुदायिक विद्यालयमा इसिडीदेखि नै कक्षा सञ्चालन गरी सामुदायिक विद्यालयका तल्लो तहबाटै विद्यार्थी सङ्ख्या वृद्धि गर्ने काममा लागेका छौँ । नगरपालिकाले खास गरी विद्यालयस्तरदेखि नै नैतिक, व्यावहारिक र प्राविधिक शिक्षालाई जोड दिएको छ । 

स्वास्थ्य पूर्वाधारका क्षेत्रमा केही उपलब्धि हासिल भएको छ ? 

नगरपालिकाले आफ्नै १५ शøयाको नगर अस्पताल बनाउन आठ रोपनी जति जमिन आवश्यक पर्ने भएकाले अस्पतालकै नाममा अहिले जग्गा प्राप्ति भइसकेको छ । नगरस्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारबाट योजना स्वीकृत भइसकेको छ । क्यान्सर, मिर्गौला, पक्षाघातलगायतका कडा तथा दीर्घरोग लागेका बिरामीलाई मासिक पाँच हजार रुपियाँ प्रदान गरी हौसला प्रदान गर्ने गरेका छौँ । नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गरिसकेको छ । नेसनल किड्नी फाउन्डेसनको सहयोगमा मिर्गाैला बचाऊ अभियान वडा वडामा थालनी गरिसकेका छौँ । ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्ति र एकल महिला लक्षित कार्यक्रमलाई विशेष प्राथमिकता दिएका छौँ । ‘बाआमा कार्यक्रम’ मार्फत वडा वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ । मधुमेह र रक्तचापको औषधी निःशुल्क वितरण गर्ने गरेका छौँ । प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ मार्फत १४ वटा सामुदायिक विद्यालयमध्ये पाँच वटामा नर्स कार्यक्रम सञ्चालन गरेका छौँ भने बाँकी विद्यालयमा पनि क्रमिक रूपमा सञ्चालन गर्दै जाने छौँ । 

पर्यटकीय हबका रूपमा चिनिने महालक्ष्मी नगरपालिकामा पर्यटन क्षेत्रमा के काम गरिँदै छ ?

महालक्ष्मीको ऐतिहासिक सम्पदा हेर्न वडा नंं. ६ र ८ तथा अन्य वडाका पुराना मठमन्दिर र सम्पदाको पुनर्निर्माण र नवनिर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएका छौँ । वडा नं. १० स्थित लाँकुरीभन्ज्याङमा मनमोहन पार्क निर्माण गरेका छौँ । उक्त पार्कसँग गणेशमान पार्क पनि निर्माण गरिएको छ । लाँकुरीभन्ज्याङबाट भक्तपुरको सूर्यविनायक, ललितपुरको गोदावरी, लुभु, काभ्रेको पनौती हुँदै काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला जान सकिने रमणीय पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्रमा, सवारीसाधन, हाइकिङ, साइक्लिङको माध्यमबाट सहजै पुग्न सकिने व्यवस्था गरेका छौँ । यस क्षेत्रलाई नव पर्यटकीय गन्तव्यको केन्द्र बनाउँदै छौँ । अन्तरपालिका सहकार्य गरेर पर्यटन प्रवर्धन गर्दै छौँ । २०८० फागुन ५ देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव गरेर नगरपालिका पर्यटनमैत्री भएको सन्देश दिइसकेका छौँ । 

सार्वजनिक जग्गा संरक्षणका लागि के के प्रयास भएका छन् ? 

नगरपालिकाको वडा नं. १ देखि १० सम्म नै नापी शाखाबाट लगत तयार गरी सार्वजनिक जग्गा खोजी संरक्षण गर्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाएका छौँ । सार्वजनिक जग्गा भएका स्थानमा जग्गाको कित्ता नं. नै उल्लेख गरी साइनबोर्ड राखेर यो जग्गा सार्वजनिक हो भन्ने आमनागरिकलाई जानकारी दिने गरेका छौँ । विष्णुमती खोलासँगैका जग्गामा पनि अस्पताल, एम्बुलेन्सको पार्क बनाउँदै छौँ । वडा नंं. १ देखि ४ सम्म सार्वजनिक जग्गा अलि कम छ भने वडा नंं. ५ देखि १० सम्म सार्वजनिक जग्गा अलि धेरै भएकाले उक्त क्षेत्रमा सार्वजनिक जग्गा संरक्षण गर्ने काम गरेका छौँ । 

अन्य पालिकाभन्दा महालक्ष्मी नगरपालिकाले फरक रूपमा के गरेको छ ?  

ग्वार्कोदेखि ढुङ्गिनसम्म सडकबत्ती बालिसकेका छौँ । उक्त क्षेत्रमा सिसी क्यामराको पनि व्यवस्थापन हुँदै छ । सडक दुर्घटना न्यूनीकरण गर्न ग्वार्कोदेखि ढुङ्गिनसम्म डिभाइडर प्रयोग गरेका छौँ । सडकमा ट्राफिक लाइट राख्नेलगायतका कामलाई अन्य पालिकाभन्दा फरक रूपमा लिन सकिन्छ । 

रोजगारी र उत्पादनमूलक काममा नगरपालिकाले के काम गरेको छ ? 

‘उद्यमीको साथमा नगर प्रमुख’ कार्यव्रmम ल्याएका छौँ । प्रधानमन्त्री स्वरोजगारसँगसँगै यो कार्यव्रmम अगाडि बढाएका छौँ । हामीले दुई लाख रुपियाँसम्म बिनाब्याज दुई वर्षभित्र फिर्ता गर्ने गरी रकम प्रदान गरेका छौँ । फिर्ता भएको रकम अर्को वर्ष अर्कै व्यक्तिलाई प्रदान गर्ने गरेका छौँ । यस्तो रकमले ससाना उद्योग गर्न चाहने व्यक्तिलाई राहत प्रदान गरोस् भन्ने नगरपालिकाको लक्ष्य रहेको छ । तरकारी खेती, पशुपालन, मत्स्यपालनलगायतका व्यावसायिक कृषि कर्म गर्नका लागि नगरपालिकाले ५० प्रतिशतसम्म अनुदान दिने गरेको छ ।