• १० मंसिर २०८१, सोमबार

खड्पाबिसीको एक बिहान

blog

यात्रा न हो, आफैँ पनि कहिले यता कहिले उता पुगिदिन्छ तन्किएर । यात्रा न हो, कहिले कता कहिले कता दौडिदिन्छ लम्किएर । उडिदिन्छ सुदूर आकाशतिर अनि वरिपरि नै बरालिन्छ कहिले यो बेलगामको लगाममा । एकै लय, एउटै स्थिति र एकै ठेगानमा नबस्नु, नरहनु पनि त हो यात्रा । 

मौरीका बथान जस्तै एकै चाकामा नअटाउनु र उडिरहनु नै पनि त हो यात्रा ! हिँड, दौड, कुदिरहु बिनाविश्राम, बिनालगाम, बिनाआलस्य र बिनापर्बाह । हिमाल पहाड तराई केही नभनी चलायमान दिक्क काल र समयको ख्याल नभएका लापरबाहहरूकै खेल तमासा पनि त हो यात्रा ! त्यस्तै भयो यस पाला यो पङ्क्तिकारलाई पनि । पुग्नु थियो ऐसेलु खर्क माध्यमिक विद्यालयमा सम्मानित हुन तर पुगियो तलपट्टि कछारको मावलीगाउँ बाहुनीटार ।

यही ८० साल छाड्दो असोज महिनाको कुरा । काठमाडौँदेखि सिपाघाटसम्म सार्वजनिक बसको सेवा पाएर हुइँकियो । इन्द्रावती पुलपारि पुगेपछि एकुवारै एकुवार नदीकिनारको बाटो पैदल हिँड्दै गर्दा मन चौ चौ भयो कहाँ जाँदै छु भनेर । पहिले पनि हिँड्न त हिँडेकै हो । उतिबेरको सकसपूर्ण यात्रा ! तल इन्द्रावतीका बर्खेभेलका उन्मत्त छाल, माथि साँघुरो औडेखौडे बाटो । बाटैमा भोक्सीका भ्वाङ, डिल कान्लामा पहिरा लडिरहने छिनछिनै दिनदिनै । माथिबाट ढुङ्गा गेगरसँगै भलबाढी खसिरहने । टाउकामाथि हात राखेर तलमाथि हेर्दै कतै दौडिँदै कतै बामेसर्दै फटाफट पार नभए पुगिन बेर छैन बङ्गालको खाडी । 

भित्तो छाम्दै र कतै बामेसर्दै झारबुट्टा समाउँदै पञ्चमीका पाइला चालेर पहिरो पार भइआएको बानी । त्यही पुरानो बाटो आज मोटर चल्ने पिचरोड बनेको देख्ता उदेक लागेर थपिन्छ पो हैरानी । इन्द्रावतीका छाल अहिले पनि अविरल यात्राकै क्रममा उस्तै र उसै गरी नाचिरहेका । हाँसिरहेका । तिनै छालसँग गाला जोड्दै छोटो पदयात्राले चाँडै पु¥याए छ ढोटारकै पुछारको भूमेस्थानको चउरमा । 

आउँदाजाँदा पहिलेदेखिकै विश्राम गर्ने थलो बारीको पर्खाल । विशालकाय सारसौंधो पिपलबोटकै फेदमा बडा बडा लोहोरे ढुङ्गामा स्थापित भूमेदेवताको थान । ढोटारभरिका सबैथरी माझीले मङ्सिरे पूर्णिमाका दिन पूजा धूपधुवार बलि चढाएर आआफ्ना इष्टदेवताको आराधनासहित भाकलका पन्छी र पशुबलि चढाएर दीपावली आयोजना गर्ने प्रसिद्ध थान तर नाम चाहिँ सधैँभरि गुमनाम ! छाना भित्तो नभएको खुला मन्दिरअगाडिको छोटो विश्रामले लामो आनन्दातिरेकमा पु¥याएको भान हुँदा दौडिन्छ दृष्टि पारि फर्सिला देउपुरतिर बेपर्बाह । त्यहाँ पुगेका पूर्वाधारका आधार पहिल्याउँदा अलि परको कार्कीटार कार्की सहर बन्ने बेला भए पनि जस्ताको त्यस्तै ।

पुलपारिको पुरानो ढाँडखोला बजार डाउन टाउन भन्न सुहाउने अझै भएन छ । माथि डिलमा पुगेपछि मोटरबाटो समातेर राजमार्गमा हिँड्दा देखिन्छ नयाँ कलेवरमा माझीगाउँ । रेमिट्यान्स र गिट्टीबालुवाको परिधानमा चिटिक्क सिँगारिएको बेहुली बनेर । खसीबाख्रा, सुँगुर बाँध्ने छाप्रा खोरमा मोटरसाइकल भरिएका । गाईभैँसी बाँध्ने पाली गोठका टाट्ना खाली । अरू इलम, उद्योग, कामधन्दा बन्द । विदेशकै भरमा घरखर्च र दसँैतिहार पितृ बोलाउने कर्म र बिहेबारीको मिलेको छ परिबन्द । फराक राजमार्गमा पाइला चल्दै गर्दा छुल्याहा कुरा सोच्छ उत्ताउलो मनले ।

“किन चाहिए छ यहाँ यत्रो राजमार्ग ? को हिँड्छ यहाँमाथि दोहोरीलत्तो मोटर हाँकेर । गाउँकै धेरथोर गाईबाख्रा हिँड्न त उसै पनि पुगेकै त थियो । रिसल्लाका घोडा तालिम गर्न बनेको टुँडिखेल त हैन यो ? युवायुवती धुरीलौरी विदेश । महिला वृद्ध र केटाकेटी मात्र बाँकीबक्यौता । के अचम्मको भएछ यो प्रदेश ?” सिपा तीनघरेबाट बाहुनीटारमा सरेका मावली भाइ गोपीको घरमा हुन पुग्छ बास । जाँदा पुग्दा चियाचमेना र मेजमानीका खाताखात । उनको जागीरमाथिको पशुपालन, नर्सरी, तरकारी खेती हेर्दै डुल्दै पौरखका कित्ता गनेर बित्छ साँझ । बाँकी नातागोता, मावली, ससुराली र घरघरायसी कुरा जोतेर गफिँदै बित्छ झन्डै आधारात । 

बिहानको नुहाइधुवाइ इन्द्रावतीमा गरौँ भन्ने मनसुवा तर त्यो पनि घरनगिचै जडान गरेको नयाँ धाराले यतै नुहाउनु भान्दादा भन्दा बजे जस्तो लाग्छ दिलरुवा । हल्का चियानास्ता लिएर बिहानी पदयात्रामा चल्छ भान्दाइ । साथ लागेर खड्पेश्वर मन्दिर लैजान खोजेका भाइलाई पर्दैन भन्यो एक्लै हिँड्ने बानी बताएर । पुरानो खड्पेश्वरको स्थान पहिलेदेखि नै डुलिआएको ठाउँ । भुलिएको पक्कै छैन भन्ने विश्वास लिएर पाइला चले बिहानी हावाको चञ्चले पदचापसँगै । घरकै करेसाबाट लमतन्न सुतेको राजमार्ग । आवाद गर्दै गए पाइलाहरू । डिही चउरमा उभिएका बरपिपलका विशाल रुख मासिए छन् । चउरकै ओल्लो छेउमा उत्तम भाइको एक्लो घर छिमेकी थपिएर दुक्लो भएछ । 

पल्लोपट्टि चउरनगिचै घरबार खेती गाईभैँसीको ठुलै खाइनपाइन चलाएर बसेका लोकनाथ दाइ नवौँ दशकको जीवनयात्रा चल्दै गर्दा घरबार उजाड बनाएर काठमाडौँ भित्रिएछन् । नगिचको खेतबारी, गाउँभरि जजमान, गोठभरी गाईभैँसीको बथान, चटक्कै घरखेतसँग दाम्लो छिनालेर डाँडो काट्ने रहर कसरी पलायो उनमा ? के पाउन के खोज्दै पर्देसिए हुन् ती बुढा परिवारै लिएर ? प्रश्नको पेटारो फुकाउँदै चउर नाघेर कोल्टे लाग्दा राजमार्ग किनारमा एक्लो सानो किरानाकम चियापसल भेटियो । कुतकुती लागेर सोधी हेर्दा अधबैंसे पोयोमा लागेकी भँडारीथोके पसल्नीले गाउँमा चितुवा, बाँदर, भालु र श्यालको बिगबिगी थेग्न नसकेर बिसी झरेको भनिथिन् ।

“मान्छे नि उति हिँड्दैनन् । मोटर त झन् वैशाख/जेठतिर दुईचार पल्ट चले थे । अहिले त तीन/चार महिनायता बन्दको बन्द,” पसल्नीको जवाफले नाजवाफ बन्दै बाटा लाग्न खोज्दै थिएँ म । “तपाईं को हो, एक्लै कहाँ जान लाग्नुभयो ?” उनले मनको खुल्दुली खोलिन् । “म पनि पोखरे गाउँको पुरानो बासिन्दा पौडेल । केटाकेटीमा तिनघरे मावलीमा बस्दा यो फाँट र बिसीमा चार/पाँच वर्ष खाइखेली गरेको । हिजो यहाँकै गोपी भाइकोमा भान्दाइ बनेर पाहुना आएको । अहिले चैँ खड्पेश्वरको दर्शन गर्न जाँदै गरेको,” मैले पनि जानकारी गराएँ । 

खड्पेश्वर दर्शन गर्न जाँदै गरेकाबारे उनको तर्क यसरी खुल्यो । “माथि त एक्लै जान सक्नु हुन्न, पहराको बाटो साँघुरो छ । वनमारा, उन्यु र जङ्गली काँडाको झाडी बढेर बाटै नदेखिने भयो होला । गुफाभित्र बाघ बसेको हुन्छ भन्छन् सधैँ जसो ।” 

“तल बगैँचाको पुरानो मन्दिरसम्म मात्र भएनि जान्छु । महादेवको दर्शन गर्न भनेर हिँडी त हालियो” भने थेँ जवाफमा र हिँडी पनि हालेँ । टारी खेतमाथिको नयाँ राजमार्गमा पाइला चलाउँदै जाँदा वारिपारि तलमाथि दृष्टि परे । पहिले घाँस दाउरा र सोतरका लागि स्थानीय गाउँलेले खुकुरी बञ्चरा खुर्पा चलाएर ठुङ्दा ठुङ्दा नाङ्गेझार बनाएको भँडारीथोकको पाखो यतिबेर वनबुट्यानले भरिपूर्ण हराभरा बने छ । 

ठुलो खोलामाथि कटुस, वनमारा, वसन्तेकाँडाको झाडी खोलाको प्रवाह नै छेक्ने गरी झाँगिए छ । नौबिसेको गुठीडिलमा निस्किँदा तल बगरदेखि माथि बाहुनीपाटीसम्मको फाँटमा दृष्टि दौडिए । टारी बगर फाँट गोठकटेरा सबैतिरको परिवेश सुनसान लाग्यो । एउटै चरोमुसो पनि देखिएन मान्छेको नाउँमा । फाँटभरि एकैनासले सप्रिएको बर्खे धान लरक्क बाला लर्किंदै आफ्नै लयमा झुलेर ढकमक्क थियो । बतास बनेर ती मुलायम रेसमी बालामाथि खुरुरुर्र दौडनु जस्तो लाग्यो । माथि वनतिर आँखा घुमे । 

उतिबेरका ससाना बुट्टा पोथ्राहरूले यतिबेर विशाल वृक्ष र झाडी बनेर मूलबाटै छेके छन् । बयर र अररीका झाङ फैलिएर जमिन ढाके छन् । तिनघरे बितलबतिर उकालो लाग्ने मूलबाटो आफैँ बन्द जस्तो भएछ । उतिबेर खड्पेश्वर शिवमन्दिर वरपरको बगैँचा बर्सैसाल आँप, कटहर, लदावदी फल्ने कामधेनु थियो । अलि अलि भएका ससाना रुख बुटा पनि दाउरा काट्नेहरूले रातसाँझ चोरेर सखाप बनाउँथे । तिनै ससाना बुटाको छहारीमा बसेर कहिले काँचा आँपको थेबे र कहिले कटहर खान्थ्यौँ उस्तैउस्ता केटा मिलेर । यतिबेर त्यही बगैँचा फाँडिएर कुरूप ठूटेपाखो बने छ । एउटा धर्मात्मीले बगैँचा लगायो होला, अर्को बिखर्ची निस्किएर रुखै बेची दिएछ स्कुलको नाममा ! किसोर वयका दिन नाच्छन् दिमागमा । 

बाली उठेर फाँट खाली भएको बेला आली आली दौडिने र कान्ला फड्किने प्रतियोगिता चल्दथे । डन्डीबियो, गीर जस्ता आउटडोर गेम खेल्ने गन्थ्यिो अक्सर । कहीँ कतैबाट दुई/चार पैसा हात लागेको बेला खोपी खेल्ने र उसमा बितेथे दिन । एक पटकको सम्झना दस/बाह्र बर्षे उस्तैउस्ता अल्लारे केटा गट्टा खेलेर खोलाकिनारमा बसिरहेको बेला माथि पाखाको वन सुइँøय सुनुनुन्न गरेर सुसायो । उँभो दृष्टि दिँदा त रुखहरू बिपत्ता हल्लिएका देखिए । बुङबुङ्ती माटो, बालुवा उडेर पाखा बगर सब कुइरीमण्डल ! हावाहुरीको भयावह देख्तै डराएका हामी केटा बेतोडले दौडिएर गोठमा भित्रिएथ्यौँ । 

वेगले चलेको हावासँगै बिजुली चम्किँदै आरीले घोप्ट्याए झैँ असिनापानी बर्सिएर सातै लियो । हुत्त हुत्त उचालेर गोठको छानासमेत झन्डै उडाएको । अलि बेरमै गोठभित्र बाहिर असिनाको उरुङ लागेर हाम्रासामु हिमाल ठडियो । निकै त्रासमा एकाध घण्टा बिताएपछि बल्ल पानी पर्न बिदा भएर गाउँतिर उँभो लागेका थियौँ । पुरानो सम्झनाले दिमागमा ताजा बनेर सन्त्रासको सिँचाइ गर्दै थियो । पाइला चल्दै रहे थोरै बेर । जङ्गल पनि कति निरव, निःशब्द र निश्चेष्ट हो आज ! एकान्त नै भयावह लाग्छ यतिबेर । 

वाफ र पिरो दुर्गन्ध आउँदै गरेको आलो पिसाब राजमार्गको माझैमा थाउलाथाउली परेर जमेको देखियो । पक्कै कुनै बाघ, भालु या वनढाडेको पिसाब हुनु पर्छ भन्ने अन्दाजमा टक्क अडिए पाइला । अरू दुई/चार कदम नचल्दै सडक छेउमा मांसाहारी जनावरको बिष्टा पनि आलै देखियो । बाघेपञ्जाको घुर्मैलो छाप पनि देखिँदा आसपासमै पक्कै बाघ नै हुनु पर्छ भन्ने आशङ्का थपिएर ढक्क जिउ फुल्यो । यतै नगिच छ कि क्याहो पड्के ? रौँ ठढिडएर सिरिङ भयो आङ । मनले शङ्का गर्दा निशङ्का बन्ने हुती आएन ।

त्यो जनशून्य बिरान ठाउँबाट अघि बढ्ने आँट त झनै आएन । बाल्यकालमा आफ्नै आँखाले देखेका पहराको गुफाभित्र विराजमान शिवपार्वती, गणेश अनि कामधेनुका सग्ला मूर्तिहरू समयको दुरीलाई छिचोल्दै आँखाअगाडि प्रतिविम्बित भए । यहाँसम्म आएर पनि प्रत्यक्ष दर्शन नगरी फर्कने कस्तो लाछीपन हो मेरो ? आफैँलाई विवशताको कारणी बनाउँदै बाटैबाट फर्किनेतिर दरियो मन । अर्कोपल्ट मावली आउँदा भाइभतिजा साथी लिएर दर्शन गर्न जाने अठोट लिँदै यो पटकको खट्पेश्वर यात्रा बाटैमा जाम भयो । बस !   

Author

नरेन्द्रराज पौडेल