• १३ साउन २०८१, आइतबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौलाको सफल प्रत्यारोपण

blog

रमेश पौडेल

पोखरा, चैत ९ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलोपटक मिर्गौलाको प्रत्यारोपण गरेको छ । 

यसअघि २०७९ असारमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले पोखराको यस अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो । सो टोलीले ८ औँ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेपछि यस अस्पतालका चिकित्सकलाई सिप हस्तान्तरण गरेको थियो । पोखराका चिकित्सकहरूले नवौँ पटक भने आफ्नै जनशक्तिमा प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।

पोखराका चिकित्सकहरूले बिहीबार मात्र तनहुँको व्यास नगरपालिका–१० निवासी ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरेका छन् । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गर्नुभएको थियो ।

बिरामीको अवस्था सामान्य रहेको डा प्रकाश क्षेत्रीले जनकारी दिनुहुँदै एक हप्तामा डिस्चार्ज हुने बताउनुभयो । अस्पतालका युरो सर्जनद्वय डा प्रकाश क्षेत्री र डा अनुप चापागाईँ, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठ र डा सन्तोष श्रेष्ठ साथै एनेस्थेसिया डा रोहिनी सिग्देल, डा माया लामा, डा. सनिस गुरुङ र डा अनिल न्यौपानेको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

पोखरामा प्रत्यारोपण गर्नका निम्ति अस्पताल प्रशासनले सातजना स्टाफ नर्सलाई तालिम दिएर तयार गरेको थियो । जसमा गीतादेवी तिवारी, रन्जिता पौडेल, सुष्मा ढकाल, विशाखा पण्डित, नरमाया पुन, श्रुति श्रेष्ठ र आरती पुन आइसियु केयरमा रहनुभएको थियो ।

हाल दैनिक ४० भन्दा बढी मिर्गौला बिरामीले निःशुल्क रूपमा डायलिसिस गरिरहेका छन् । सोही बिरामी मध्येबाट प्रत्यारोपणका लागि निवेदन आइरहेको अस्पतालका निर्देशक डा भरत बहादुर खत्रीले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १० जना पालो कुरेर बसेका छन् । उनीहरूको कानुनी प्रक्रिया मिलाएर दातासँग मिर्गौला म्याचिङ्ग जाँच गर्ने काम भइरहेको डा खत्रीले बताउनुभयो ।

नेपाल सरकारको विपन्न उपचार स्वास्थ्य कार्यक्रम अन्तर्गत बिरामीले प्राप्त गर्ने चार लाख रुपियाँभित्र मिर्गौला प्रत्यारोपण सम्पन्न हुने सूचना अधिकारी भट्टराईले प्रष्ट पार्नुहुँदै कतिपय बिरामीले सो रकमबाटै पूर्ण रूपमा प्रत्यारोपण सुविधा पाउनेछन् ।