डडेल्धुरा, चैत ९ गते । डडेलधुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ । तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन् ।
मल्ल राजाको दरबार, रानीले रानीताल नुहाउन जाने गुफा, घोडा राख्ने तबेला, नौला, देवलहरूको संरचना केही नास भएका छन् भने कतिपय जीर्ण अवस्थामा रहेका छन् । कोटमा जाने बाटो भने नेपाली सेनाको सहयोगमा निर्माण भइरहेको छ । पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलहरूको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ ।
डडेलधुरा सदरमुकामबाट सात किलोमिटर टाढा पश्चिममा रहेको हाटगाउँको बस्ती र खोलाको बिचमा प्राचीनस्थलका रूपमा अजयमेरुकोट अवस्थित छ । बाइसे चौबिसे राज्यकालीन डोटी राज्यको राजधानी कोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देवल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष, पोखरी आदि वास्तुकलालाई पुनः निर्माण गर्नसके कोट आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने स्थानीय फगिर ओढले बताउनुभयो ।
राजा नागी मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण गरेको कोटको संवर्द्धन नहुँदा पर्यटकीय दृष्टिकोणले पनि मुनाफा लिन नसकिएको अजयमेरु गाउँपालिकाका उपाध्यक्ष वसन्ती पालको भनाइ छ । कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सके आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न सक्ने उहाँ बताउनुहुन्छ ।
जीर्ण संरचनामा अहिले पनि १० फिटभन्दा लामा ढुङ्गा रहेका छन् । स्थानीय अजयमेरु गाउँपालिकाको पहलमा बिहीबार छिमेकी पालिका भागेश्वर र अमरगढी नगरपालिकासँगको संयुक्त बैठक गरी कोटको संरचनाको जीर्णोद्धारका लागि पहल सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । आठौँ शताब्दीमा राजा नागी मल्लले निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन् ।
पुरातत्त्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको भए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्तिको संरक्षणका लागि कुनै पहल नभएको स्थानीयको गुनासो छ । कोट क्षेत्रमा रहेका अधिकांश संरचना पूर्ण रूपमा नष्ट भइसकेका छन् । सरकारले कोटको संरक्षण र संवर्द्धनका लागि गुरुयोजना बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ । रासस