• १३ साउन २०८१, आइतबार

नयाँ सरकार बनाउन साना दल निर्णायक

blog

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् कार्यालय । फाइल तस्बिर

पोखरा, चैत ९ गते। सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन हुने पक्का छ। दलहरूबिच अनौपचारिक छलफल सुरु भइसकेको छ। सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन। 

६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन्। सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ। 

सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित कृष्ण धिताल हुनुहुन्छ। सभामुखले मत बराबरी भएमा मात्र मतदाता गर्न पाउने कानुनी व्यवस्था छ। यसो हुँदा गण्डकीमा साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) निर्णायक हुने अवस्था छ। गण्डकीमा राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन्।

केन्द्रमा अहिलेको सत्ता गठबन्धनमा नरहेको राप्रपा प्रदेशमा सरकारमा जाने सम्भावना निकै कम छ। एकीकृत समाजवादीका सांसद राजीव गुरुङको पार्टी नयाँ गठबन्धनमा जाने/नजाने प्रस्ट भइसकेको छैन। 

प्रदेश सभामा नेपाली काङ्ग्रेसका २७ सांसद छ। सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठुलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ। यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवै साथ जरुरी हुन्छ।