• १३ साउन २०८१, आइतबार

आमसञ्चार र बिउँबिजन विधेयक प्रमाणीकरण

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ९ गते। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। गण्डकी प्रदेशसभाले फागुन २१ गते पारित गरेका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भट्टले प्रमाणीकरण गर्नुभएको हो। 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम दुई विधेयक प्रमाणीकरण भएको उल्लेख छ। यी दुई विधेयक चैत २ गते सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गर्नुभएको थियो। आम सञ्चार विधेयक प्रमाणीकरण भएपछि गण्डकीमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्ने बाटो खुलेको छ। 

आमसञ्चार विधेयकमा प्रदेशको ११ औँ तहका कर्मचारी अर्थात् प्रदेश सचिवसरह प्रेस रजिष्ट्रारको व्यवस्था छ। रजिष्ट्रारको कार्यकाल चार वर्षे हुनेछ। ३५ वर्ष पुगी ६० ननाघेको, स्नातकोत्तर उत्तीर्ण र पत्रकारितामा कमसेकम १५ वर्ष काम गरेको व्यक्तिलाई छनोट समितिले सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ। 

बिउँबिजनसम्बन्धी ऐनले रैथाने बालीको संरक्षण गर्दै स्थानीय बालीहरुको प्याटेन्ट राइट सुरक्षित गरेको छ। बिउँहरुको गुणस्तर, बिक्री, उत्पादनका मापदण्ड पनि यसले तय गरेको छ। अब प्रदेशसभामा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसंहार गर्ने सम्बन्धमा बनेको विधेयक र गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक बाँकी छन्।