इमान सिं राना
रामपुर (पाल्पा), चैत ९ गते । रामपुरमा स्केट जोन निर्माण सुरु भएको छ । पाल्पामै पहिलो पटक स्केट जोन निर्माण थालिएको हो ।
रामपुर–५, बेझाँड राममन्दिर चोकमा पाँच जना युवाहरुको संयुक्त लगानीमा निर्माण सुरु भएको हो । रामपुर स्केट जोनले पत्रकार सम्मेलन गरी निर्माण सुरु भएको विषयमा जानकारी गराएको थियो । सञ्चालक अशोक श्रेष्ठले बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय हुँदै गएको स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन निर्माण कार्य सुरुवात गरिएको बताउनुभयो ।
उहाँले करिब ७० लाख लागतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार इण्डोर स्केट जोनसँगै कार्यालय भवन निर्माण हुने जानकारी दिनुभयो । जोनमा प्रशिक्षक ल्याएर अभ्यास गराइने जानकारी दिँदै राम्रा प्रतिभाको पहिचान गरी प्रतिस्पर्धामा जाने वातावरण सिर्जना गरिने बताउनुभयो । करिब दुई रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर पूर्वाधार निर्माण सुरु गरिएको सञ्चालक चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगामी वैशाख १ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको सन्तोष पोखरेलले बताउनुभयो ।