• १२ साउन २०८१, शनिबार

देशकै तेस्रो उत्कृष्ट बन्यो जिल्ला अस्पताल रामेछाप

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत ९ गते । न्यूनतम सेवा मापदण्ड फलोअप मापन कार्यक्रम (एमएसएस) मा जिल्ला अस्पताल रामेछाप देशभरको तेस्रो उत्कृष्ट अस्पताले बनेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडाले अस्पतालको न्यूनतम मापदण्ड फलोअप मापन कुल ९१ अङ्क हासिल गर्दै जिल्ला अस्पताल रामेछाप देशभर रहेका १५ श-याको जिल्ला अस्पतालमा तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

बुधबार अस्पतालमा आयोजित अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन फलोअप तथा समीक्षा कार्यक्रममा फलोअप मापन समितिका सदस्य रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन ज्ञवालीले अस्पतालले प्राप्त गरेको अङ्क सार्वजनिक गर्नुभयो । 

उहाँका अनुसार जिल्ला अस्पताल रामेछापले २० अङ्क मापन हुने शासन र व्यवस्थापन मापदण्डमा ८९ प्रतिशत अर्थात् १७.८, ६० प्रतिशत अङ्क मापन हुने क्लिनिकल व्यवस्थापनमा ९३ प्रतिशत अर्थात् ५५.८ र अस्पताल सहयोग सेवामा २० प्रतिशत मापन हुनेमा ८९ प्रतिशत अर्थात् १७.८ अङ्क प्राप्त गरेको छ । अस्पतालले गत वर्ष न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा ८७ अङ्क प्राप्त गरेको थियो । 

फलोअप मापन समितिका प्रमुख एवं कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेले १५ शय्याकाे जिल्ला अस्पतालमा जिल्ला अस्पताल रामेछाप न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा तेस्रो स्थानको अङ्क ल्याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई जानकारी भए अनुसार बैतडीको एउटा अस्पतालले ९३ र सिन्धुपाल्चोकको एउटा अस्पताले ९२ अङ्क  प्राप्त गरेको छ ।” 

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले आफूले अस्पताल सञ्चालनको नेतृत्व गरेपछि न्यूनतम सेवा मापदण्ड फलोअप मापनको अङ्क बढ्दो क्रममा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशभरकै  तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको छ तर अब ५० श-याको सञ्चालनका लागि स्वीकृत भइसकेकाले चुनौती थपिएको छ । अब हामी तत्काल आवश्यक योजना बनाउन लाग्छौँ ।”  

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजाने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठले सेवाको विस्तार तथा गुणस्तरीयताका कारण सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको भन्दै गत आर्थिक वर्षमा २० हजार ४१४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म १६ हजार ७२९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो । 

विसं २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएकोमा २०५० सालमा १५ शय्याको अस्पतालमा स्तरोन्नति र आव २०७५/७६ बाट प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा छ । आकस्मिक सेवाको पाँच शय्या, २५ श-याको वार्ड, आइसियु दुई शय्या र डायलासिस पाँच शय्या गरी ३७ शय्या रहेको यो अस्पताल ५० शय्याको अस्पताल सञ्चालनका लागि  स्वीकृत भएको छ ।