• १५ वैशाख २०८१, शनिबार

कला, संस्कृति संरक्षणमा कठरिया युवा

blog

मौलिक पहिरनमा सजिएका कठरिया युवती ।

अविनाश चौधरी

धनगढी, चैत ९ गते । नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने कठरिया थारू समुदायका युवा आफ्नो मौलिक कला, संस्कृति संरक्षणमा जुर्मुराएका छन् । थारू जातिमा अल्पसङ्ख्यक समुदायका रूपमा रहेको सो समुदायका युवा लोप भइरहेको कला, संस्कृति संरक्षणमा जुटेका हुन् । कैलाली, बर्दियासहित भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कठरिया समुदायको कला, संस्कृति लोप भइरहेको छ । 

नेपालमा सबैभन्दा बढी कैलालीमा कठरिया थारू समुदायको बसोबास छ । भारतमा भने लखिमपुर खिरीको बेलापरसुआ, मौँरा, मुरमुच्नी, ढुस्किया र गोलबोझी गरी सीमावर्ती पाँच गाउँमा मात्रै यो समुदायको बसोबास छ । नेपालमा चौधरी थारू र भारतमा राना थारू बस्ती आसपास बसोबास रहेको यो समुदायमा चौधरी र राना थारू समुदायको प्रभाव बढी छ । 

आफ्नो समुदायको कला, संस्कृति हराउन थालेकाले नेपालमा रहेका कठरिया थारू समुदायसँग मिलेर मौलिक कला, संस्कृति संरक्षणको प्रयास गरिरहेको भारतस्थित बेलापरसुआका युवा लल्लन कठरियाले बताउनुभयो । उहाँले दुवै देशका कठरिया युवा पुस्ताले कला, संस्कृति जगेर्नाका लागि संयुक्त छलफल, बहसलगायत विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो । “हाम्रो कला, संस्कृतिलाई जोगाउनु पर्छ भनेर छलफलका लागि हामी नेपाल जाने गरेका छौँ । त्यहाँबाट पनि हाम्रो देशमा आएर युवाले यस किसिमको छलफललगायतका विभिन्न गतिविधि गर्ने गरेका छन्,” उहाँले भन्नुभयो । 

कठरिया थारू समुदायको ठुलो पर्व होरी हो । होरी (होली) को अवसर पारेर दुवै देशका कठरिया समुदायले कठरिया होरी उत्सव गर्दै आएका छन् । कैलालीमा हुने होरी उत्सवमा भारतका युवाको पनि सहभागिता हुने गरेको छ भने भारतको कठरिया गाउँमा हुने उत्सवमा यहाँबाट पनि कठरिया समुदायका मानिसले सहभागिता जनाउने गरेका छन् । उत्सवमा मूलतः कला, संस्कृति संरक्षणका बारेमा चिन्ता, चासो र बहसका साथै होरी नृत्य हुने गरेको जनाइएको छ । 

कठरिया थारू समुदायको कला, संस्कृति र भाषा चौधरी थारू समुदायको भन्दा केही फरक छ । यद्यपि चौधरी थारू समुदायसँग बढी घुलमिलका कारण यो समुदायको कला, संस्कृति धेरै हदसम्म चौधरीको जस्तै भइरहेको बताइन्छ । विभिन्न रूपमा आफ्नो समुदायको कला, संस्कृति हराइरहेकाले युवा पुस्ता संरक्षणका लागि जुर्मुराएको कठरिया थारू समुदायका अगुवा एवं युवा रचनाकार/गीतकार सुवेश कठरियाले बताउनुभयो । 

पछिल्लो समय गीत, सङ्गीतको माध्यमबाट पनि कला, संस्कृतिलाई जोड दिएको उहाँको भनाइ छ । नेपाल र भारत दुवै देशका युवाले होरीको अवसर पारेर हालै ‘सरर होली’ बोलको म्युजिक भिडियो पनि बनाएका छन् । भारतका युवा लल्लन र उहाँकी धर्मपत्नी मोनिका कठरियाको लगानीमा नेपालमा छायाङ्कन गरेर म्युजिक भिडियो निकालेको गीतकार कठरियाले जानकारी दिनुभयो ।