कोकिला भण्डारी
धनकुटा, चैत ८ गते । विपद व्यवस्थापन समिति धनकुटाको बैठक पाख्रिबास ४ तालतलैयास्थित सिमसार क्षेत्रमा भएको छ । एेतिहासिक रूपमै हवाइजहाज भित्र वसेर विपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको यो पहिलो पटक हो ।
धनकुटा नगरपालिका भित्र मात्र हुँदै आएको उक्त बैठक पर्यटन प्रवर्धनका लागि धनकुटाको पाख्रिबास नगरपालिका ४ सिमसारस्थित तालतलैयामा रहेको नमुना हवाईजहाजभित्र बसेर सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पैडेलले बताउनुभयो ।
सो बैठकमा लेउती खोला व्यावस्थान, भेडेटार हुँदै ६नं बुधबारे, रवि, राँके सडकमा पनि जोखिम रहेको, नेपाल बिधुत प्राधिकरणका पुराना पोलहरू हटाउनु पर्ने, कच्चि सडकमा चल्ने सानाठुला सवारी साधनको व्यावस्थापनका लागि कार्ययोजना तयार, विधुत सर्ट भएर हुने र भएका आगलागी कम गर्ने अभियान, बर्खायाम सुरू भएसँगै धनकुटाको खानेपानी लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।
यसका साथै धराप र उमेर पुगेका बुढाखडा रूखहरू हटाउन, बाढीपहिरो लगायतका हुन सक्ने जोखिम यकीन हुनुपर्ने, वैठकमा एक आर्थिक बर्षका विपद् के कति भएका छन् तथ्यांकसहित प्रस्तुत गरिनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।
विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना तयारीका लागि विभिन्न संघ संस्थाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटालाई जिम्मेवारी दिइएको छ । विभिन्न शिर्षकमा बजेट विनियोजन हुने गरेको भएपनि विपद व्यावस्थापनका लागि वजेट विनियोजन कम हुँदा विपद व्यवस्थापन गर्न समस्या रहेको भन्दै आगामि दिनमा विपद व्यावस्थापनका लागि पनि वजेट विनियोजित हुनुपर्ने सरोकारवाला निकायको माग छ
कार्यक्रममा शसस्त्र प्रहरी वल नेपाल नम्वर ६ गुल्म हे.क्वा. छिन्तांङका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदनप्रसाद भारती, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्माछाने, जिल्ला प्रहरी कार्यलयका प्रमुख, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, पालिकाका प्रमुख विभिन्न दलका प्रमुख तथा पार्टी प्रतिनिधिलगायतको उपस्थितिमा छलफल भएको थियो ।