• १३ साउन २०८१, आइतबार

६ वटा उद्योगको पानी परीक्षणका लागि पठाइयो

blog

कोहलपुरका पानी उद्योगबाट परीक्षण गर्न सङ्कलित पानीको नमुना। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत ८ गते। बाँकेको कोहलपुर र सो वरिपरिका क्षेत्रमा सञ्चालनमा रहेका पानी उद्योगले उत्पादन गर्दै आएको खानेपानी गुणस्तरीय नभएको भन्दै स्थानीयको गुनासो गरेपछि पानी परीक्षण गर्न पठाइएको छ। 

कोहलपुर नगरपालिकाले नगरपालिकाभित्रका ६ वटा पानी उद्योगको उत्पादित पानीको परीक्षण गर्न नमुना सङ्कलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जमा गुणस्तर परीक्षणका लागि पठाएको हो।

कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले स्थानीय उद्योगले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपटक स्थानीयवासीेले गुनासो गरेपछि नगरपालिकाले पानीको नमुना सङ्कलन गरेर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको बताउनुभयो।

अधिकृत आचार्यका अनुसार लाइफ ओके पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपीपल पानी उद्योग र एचटुओ पानी उद्योगद्वारा उत्पादित पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ।

यसैगरी नगरपालिका भित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यमश्चिम पानी उद्योगको नमुनासमेत परीक्षणका लागि पठाइएको आचार्यले बताउनुभयो।

पानी उद्योगको गुणस्तरको विषयमा पटकपटक जनगुनासो आएकोले उद्योगीले आफ्नो उद्योगको पानी परीक्षण गराउन रुचि देखाएको नगरपालिकाले जनाएको छ।  

नमुना परीक्षणको रिपोर्टपछि पानी उद्योगद्वारा उत्पादित पानीको वास्तविक अवस्था जनतासामु सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ।