• १२ साउन २०८१, शनिबार

साहित्यमा परशु प्रधानको योगदान सधैं सम्झिनेछौँ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना सन्देश साहित्यकार स्वर्गीय परशु प्रधानको परिवारलाई हस्तान्तरण गर्नुहुँदै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल ।

काठमाडौँ, चैत ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार परशु प्रधानले नेपाली साहित्यको उत्थान र विकासमा पुर्‍याउनुभएको योगदान नेपाल र नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहने बताउनुभएको छ। 

साहित्यकार प्रधानको निधनमा परिवारजनलाई बिहीबार एक समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले मूर्धन्य साहित्यकार प्रधानको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ। 

“कथालेखनमा केन्द्रित रहे पनि साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका सिद्वहस्त आख्यानकार प्रधानले कथा, बालकथा, निबन्ध, समीक्षा, समालोचनाबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्‍याउनुभएको योगदान नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहनेछ”, समवेदना सन्देशमा उल्लेख छ।

विभिन्न भाषामा पनि आफ्ना रचना प्रकाशित गर्नुभएका प्रधानको निधनबाट नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको आफूले महसुस गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। उहाँले स्वर्गीय प्रधानको आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। 

समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानका परिवारजनलाई निवासमा पुगेर हस्तान्तरण गर्नुभएको छ।