• ३१ वैशाख २०८१, सोमबार

हिउँ पानी पर्दा कृषक खुसी

blog

पाँचथरको फालेलुङमा परेको हिउँ ।

राधा लुइटेल

फिदिम, चैत ८ गते । पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।

‘यो बेलासम्म मकै उम्रिइसक्नु पर्थ्यो, असोजदेखि पानी नपर्दा बाँझो खेत जोत्नै पाइएन, अब कम्मर कसेर काममा लाग्न पाइने भो’ लिम्बूले भन्नुभयो । 

यो सिजनमा पानी पर्दा मकै छर्न, चैते धान रोप्न र यसअघि लगाइएका गहुँ र आलु बालीलाई फाइदा पुग्ने उहाँको भनाइ छ । 

वीरमानजस्तै फालेलुङ–५ का चौंरीपालक चन्द्रलाल नेपाल पनि खुसी मुद्रामा देखिनुभयो । सिजनमा पहिलो पटक हिउँ परेकाले प्रकृति, मान्छे र जनावर सबैलाई न्याय भएको उहाँको टिप्पणी छ । 

‘मान्छेलाई शीतल त भयो नै पानी नपर्दा लागिरहेको डढेलो र आगलागी पनि नियन्त्रणमा आयो, वसन्तको सुरुवातमा परेको पानीले गुराँस राम्ररी फुल्छ, खर्कमा घाँस पलाउँछ अनि सबैखाले रुख बुट्टामा पालुवा पलाउँछन्’ नेपालले थप्नुभयो  ।

पाँचथर सहित पहाडी जिल्लामा यो वर्ष पहिलो पटक पानी परेको छ । बुधबार बिहानदेखि सुरु भएका वर्षा र हिमपात बिहीबार अपराह्नसम्म जारी छ । पानी परेपछि धुवाँ र धुलोसहितका प्रदूषण कम हुन थालेको छ । जिल्लाको फालेलुङ गाउँपालिका –४, ५ र ६ का उच्च पहाडी तथा हिमाली भेगमा तीन फिटसम्म हिउँ परेको चाररातेका डिल्ली केरुङले बताउनुभयो ।

असोज पहिलो साता मनसुन निष्क्रिय भएसँगै निरन्तरको खडेरी पश्चात् पानी पर्दा किसान खुसी भएका छन् । जिल्लाको फालेलुङस्थित सुर्केथाम, चारराते, फालौट, इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर तथा सिक्किमसँगको सीमावर्ती पाँचथरस्थित चिवा भन्ज्याङ क्षेत्रमा बुधबार बिहानैदेखि हिउँ परिरहेको बताइएको छ  ।