• १५ वैशाख २०८१, शनिबार

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

blog

मान्म (कालीकोट),  चैत ८ गते ।  कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । 

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्‍य ाउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते हुनुभएको थियो । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।

छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ । नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा. केएन पौडेलले जानकारी दिनुभयो ।

चौलागाईँको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हीरामणि चौलागाईँले बताउनुभयो । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । रासस