बाबुराम कार्की
वराहक्षेत्र, चैत ७ गते । जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस (डल्फिन) को सङ्ख्या नेपालका नदीहरूमा कम हुँदै गएको छ । स्वच्छ पानीको जलकुण्डमा पाइने सोँसको सङ्ख्या पछिल्लो समयमा घट्दै गइरहेको सरोकारवालाले जनाएका छन् । नेपालको कोशी, कर्णाली र नारायणी नदीमा मात्रै पाइने दुर्लभ गङ्गेटिक प्रजातिका सोँसको सङ्ख्या घटिरहेको सोँसमै विद्यावारिधि गरेका शम्भु पौडेल बताउनुहुन्छ । डल्फिन मासिँदै गए नदीको प्राकृतिक संरचना नै बिग्रिँदै जाने र जलीय जैविक विविधतामा असर पुग्ने उहाँको भनाइ छ ।
दुई दशकअघिसम्म वराहक्षेत्र मन्दिरको पश्चिमपट्टिको कोशी नदीको भुमरी र कोशी ब्यारेजको उत्तरी नदी क्षेत्रमा सोँस विचरण गरेको सहजै देख्न सकिन्थ्यो । २०६५ सालमा कोशी फुटेपछि कोशी ब्यारेजभन्दा उत्तर नदी क्षेत्रमा सोँस कमै मात्रामा देखा पर्ने गरेको डल्फिनविद् पौडेल बताउनुहुन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीटप्पु केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार सप्तकोशी नदीमा गत वर्ष गणना गर्दा १९ वटा सोँस रेकर्ड गरिएको थियो । स्वच्छ पानीमा रमाउने दुर्लभ जलचर सोँस कोशी नदीमा जुन गतिमा वृद्धि हुनुपर्ने, त्यो नदेखिएको गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्षको गणना अनुसार १९ वटा डल्फिन रेकर्ड गरिएकोमा ब्यारेज उत्तर कोशीमा दुई वटा मात्रै डल्फिन रेकर्ड भएको छ ।”
नदीको दक्षिणी नेपाली भूभागमा रहेका सोँस ब्यारेज पुलका ढोकाबाट माथि उक्लिन नसक्दा उत्तरी नदी क्षेत्रमा सोँस कम देखिएको गौतम बताउनुहुन्छ । कोशी तथा गण्डक नदीमा नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएका बाँधका कारण नेपालका सोँस दक्षिणी क्षेत्रमा पसेपछि पुनः नेपाल फर्किन सक्ने संरचना नहुँदा सोँसको सङ्ख्यामा कमी हुँदै आएको छ ।
विश्वमा अस्तित्वमा रहेका सोँसमध्ये एक थरी समुद्रको नुनिलो पानीमा बस्ने र अर्को थरी बगिरहने स्वच्छ पानीको जलकुण्डमा पाइन्छ । नेपालका नदीमा स्वच्छ पानीको जलकुण्डमा बस्ने सोँस पाइने गरेको छ । नुनिलो पानीमा बस्ने डल्फिनभन्दा स्वच्छ पानीमा बस्ने डल्फिनको बासस्थानमा चुनौती बढ्दो छ । बढ्दै गएको जल प्रदूषणका कारण स्वच्छ पानीमा बस्ने डल्फिन सङ्कटमा पर्दै गएको वल्र्डवाइड फन्ड फर नेपाल (डब्लुडब्लुएफ) का ताजा पानी कार्यव्रmम प्रमुख राजेश सदा बताउनुहुन्छ ।
मानिसपछिको चेतनशील र चलाख प्राणीका रूपमा मानिने डल्फिनमा मानिसको जस्तै संवेदनशीलता र विचार शक्ति हुने विज्ञहरू बताउँछन् । अति मिलनसार सामाजिक प्राणीका रूपमा रहेको सोँस सङ्कटापन्न अवस्थामा रहेकाले यसको संरक्षणमा लाग्न अति आवश्यक भइसकेको विज्ञहरू सुझाउँछन् ।
हिन्दु धर्मको महाभारत ग्रन्थमा पनि सोँसलाई मत्स्यकन्या उलुपीको नामबाट वर्णन गर्दै यसको सिकार गर्न नहुने उल्लेख गरिएको छ । सुन्दर जलप्राणी प्राकृतिको अप्सरासमेत मानिने सोँसलाई संरक्षण गर्न सबै सरोकार निकाय लाग्नुपर्ने डल्फिनविद् पौडेल बताउनुहुन्छ ।
नेपालका नदीमा सोँस
नेपालका तीन वटा नदीमा मात्र सोँस पाइने गरेको ताजा पानी कार्यव्रmमका प्रमुख राजेश सदा बताउनुहुन्छ । उहाँका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र संस्थाले गरेको अध्ययनमा सप्तकोशी, कर्णाली र नारायणी नदीमा ५२ वटा मात्रै सोँसको सङ्ख्या रेकर्ड गरिएको छ । नेपाललगायत भारतको गङ्गा नदी, पाकिस्तानको सिन्ध नदी र दक्षिण अफ्रिकाको ब्राजिलमा रहेको अमेजन नदी स्वच्छ पानीका डल्फिनको बासस्थान मानिन्छ । नेपालमा पाइने सोँसको तौल ६० देखि ८५ किलोसम्म हुने र यसले एक घण्टामा ६० किलोमिटरसम्मको यात्रा गर्न सक्ने जानकारहरू बताउँछन् । वर्षको साउन र भदौमा डल्फिनले बच्चा जन्माउने र हुर्काउने गर्छन् । बर्सेनि बर्सातको समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन नजिकबाट हेर्न सकिने प्रमुख सदा बताउनुहुन्छ । गर्मी समयमा पानीभित्रै रमाउने डल्फिनलाई साँझ र बिहानको समयमा विचरण गरेको देख्न सकिन्छ ।
सामुद्रिक डल्फिनभन्दा स्वच्छ पानीमा पाइने डल्फिनसम्बन्धी अध्ययन गर्ने अध्येताको सङ्ख्या पछिल्लो समय बढ्दै गएको डल्फिनविद् पौडेल बताउनुहुन्छ । उहाँका अनुसार नेपालका नदीहरूमा पाइने डल्फिनलाई नजिकैबाट नियाल्न सकिने भएकाले अध्येताहरू नेपाल आउने गरेका छन् ।
ठुला नदीमा देखिने सोँसको बानी, व्यवहार तथा आहारविहारको नजिकबाट अध्ययन गर्न नसकिने भएकाले नेपालका नदीमा पाइने डल्फिन अध्येताका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । नेपालका नदी किनाराबाट कम्तीमा १० मिटरको दुरीमा डल्फिन देख्न सकिने हँुदा भारत, अमेरिका, पोल्यान्ड, बेलायत, अस्ट्रेलिया, क्यानडालगायतका देशबाट स्वच्छ पानीमा पाइने सोँसको अध्ययनका लागि विद्यार्थी तथा अध्येता आउने गरेका छन् ।
नेपाल स्वच्छ पानीमा पाइने सोँसको देश बन्न सक्ने सम्भावना रहे पनि यसको संरक्षणमा राज्यको खासै ध्यान पुगेको छैन । सङ्कटापन्न अवस्थामा रहेका डल्फिनलाई समृद्धिको सूचक मानेर यसको संरक्षणमा ध्यान दिए पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने सोँसविद् पौडेल बताउनुहुन्छ ।