• १३ असार २०८२, शुक्रबार

हराए मौलिक असारे भाका

blog

सन्तोष सुवेदी

कास्की, असार १३ गते । 

लेकको चरी बेँसीमा झर्‍यो पाकेको बर खान

हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान

असार मास कुटेका चिउरा म कति साँचुला

सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।

यी वरिष्ठ गायिका हरिदेवी कोइरालाका असारे गीतमा समावेश केही हरफ हुन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । धान रोप्दा दिनभर थाकेको बाउसे र रोपाहार एकअर्कामा हिलो छ्यापाछ्याप गरी गीत गाउँदै दुःखकष्ट र थकाइ बिर्सिने गर्छन् । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाकामा अझै मिठास थपिएको हुन्छ । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले उतिसारो सुनिँदैन । गायिका कोइराला भन्नुहुन्छ, “कृषिप्रधान मुलुकमा असारे गीत जोगाउनु पर्छ । मौलिक खालका संस्कृतिमूलक गीत संरक्षण र संवर्धन गरेमा आउने नयाँ पुस्तालाई बुझ्न सजिलो हुन्छ ।”

मिडियामा असारे गीत बज्न छाडेको बताउने कोइराला संस्कृतिमूलक गीतलाई खोजमूलक बनाउनुपर्ने बताउनुहुन्छ । नयाँ पुस्तालाई असारे गीत गाउन आउँदैन । रोपाइँका बेला बिउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सव जस्तै मानिने असारे रोपाइँको रौनक घटेको कोइरालाले बताउनुभयो । “बिहानैदेखि खान खाएर मेला जाने, खेत रोप्ने, हिलो खेल्ने र साँझसम्म काम गर्ने पुरानो चलन हो । अहिले त्यो हराउँदै गयो,” उहाँले भन्नुभयो । 

पछिल्लो समय असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको कोइरालाको विश्लेषण छ । पहिले रेकर्ड गरिएका गीत प्रविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमिकता दिँदा थप समस्या भएको कोइरालाको भनाइ छ । दाइँको बेला गाइने गीत र संस्कारको संरक्षण हुन सक्यो भने यसले धान खेती र दाइँ गर्ने किसानको पनि हौसला बढ्ने उहाँले बताउनुभयो ।

असारे भाकाले भौगोलिक विविधता समेटेको छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भने पश्चिमतिर ‘काँठेभाका’ भन्ने गरिन्छ । लेग्रो तानेर गीतको पहिलो लाइन झिकेपछि बिचमा अनुप्रासका टुक्कालाई मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाका फाँकी १६÷१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरका लेग्रो तानेर यो भाका गाइन्छ । यसको टुक्काको पुनरावृत्ति भइरहने स्रष्टा बताउँछन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले एक महिना मात्र बज्ने भएको हुनाले व्यावसायिक रूपमा यसको रेकर्ड कम भएको बताउनुहुन्छ । “एक महिनामा मात्र चल्ने हुँदा गीतमा खर्च गर्न मानिसको रुचि कम देखिन्छ । यी गीत ऋतुविशेष गाइने भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो । 

किसानका लागि वास्तविक चाड असार भएकोले एक महिनाभरि काम गरी वर्षसम्म खान पुर्‍याउने र कामसँगै रमाइलो चाहिने हुँदा बिउ, हली, रोपाहारका बारेमा गीत बनाएर गाएर मेलो सक्ने चलन रहेको उहाँको भनाइ छ । असारे गीत धेरै छैनन् । पुराना गीत अलि अलि छन् । ‘हरियो डाँडामाथि हलो जोत्ने साथी...।’ स्व. धर्मराज थापाको गीतले वास्तविक असारको महिमालाई चित्रण गरेको छ । यो गीत बज्यो भने असारको झल्को आउने गर्छ । थापाको स्वरमा रेकर्ड भएको उक्त ‘हरियो डाँडामाथि’ बोलको गीत पछि रामचन्द्र काफ्लेको आवाजमा पनि पुनः रेकर्ड गराइएको छ । ‘रिमी र झिमी पानी है पर्‍यो असारे मासैमा, हिँडेको हामी धान है रोप्न बेँसीको फाँटैमा...।’ पुर्बेली लोकभाकामा तयार भएको असारे गीत नवीनकुमार खड्का, हरिबहादुर खत्री, कमलबहादुर खत्री र पुस्तका खड्काले गाउनुभएको हो । ‘रातोमा रातो असार फुल्यो वन र पाखामा, झ्याउँकिरी नानी गाउन थालिन् सुरिलो भाकामा...।’ तीर्थराज अधिकारीले लेखेको यो असारे गीतलाई पदमराज ढकाल र सावित्री शाहीले गाउनुभएको हो । नारायण रायमाझीको ‘छुपुमा छुपु’ बोलको गीत पनि असारमा गुञ्जिने गर्छ ।