• १२ मंसिर २०८१, बुधबार

पैँतालिस हजारलाई फाइजर खोप

blog

छिन्चु समाचारदाता

सुर्खेत, चैत ७ गते । हालसम्म कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा पाँच जिल्लाका करिब ४५ हजार नागरिकले फाइजर खोप (बुस्टर डोज) लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

कोभिड–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालीकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान सञ्चालन भएको थियो । जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्धको फाइजर खोप अभियानसमेत सम्पन्न भएको छ । 

खोप अभियान चैत २ र ३ गते सञ्चालन भएको थियो । खोप अभियान सम्पन्न भएसँगै आइतबार इपिक नेपालको सहयोगमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको कार्यक्रममार्फत खोप कभरेजको अवस्थाबारे जानकारी गराइएको हो । इपिक नेपालका प्राविधिक विशेषज्ञ प्रदीप श्रेष्ठका अनुसार खोप कम कभरेज भएका कर्णालीका पाँच जिल्लाका १६ वटा पालिकाका यसअघि खोप लगाउन छुटेका नागरिकले खोप सेवा लिएका हुन् । 

खोप अभियान सञ्चालनका लागि १६ वटा पालिकामा २७८ वटा खोप केन्द्र स्थापना गरिएका थिए । खोप अभियानका लागि ६० हजार बढी खोप प्राप्त भएका थिए । जसमध्ये करिब ४५ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको तथ्याङ्क रहेको छ । हालसम्मको तथ्याङ्क अनुसार करिब २० हजार जनाभन्दा बढी पुरुष र २४ हजारभन्दा बढी महिलाले खोप प्राप्त गरेका छन् । खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोजबाट छुटेका १२ वर्षमाथिको उमेर समूहका व्यक्ति खोपबाट लाभान्वित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा चौकुने र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन भएको थियो ।

कालीकोटको तिलागुफा, रास्कोट र खाँडाचक्र नगरपालिका, जुम्लाको तातोपानी र गुठीचौर गाउँपालिका, सल्यानको सिद्धकुमाख, कालीमाटी र शारदा नगरपालिका र दैलेखको नारायण र चामुण्डाविन्द्रासैनी नगरपालिका तथा भगवतीमाई र गुराँस गाउँपालिकामा खोप अभियान सञ्चालन भएको थियो । प्राविधिक विशेषज्ञ प्रदीप श्रेष्ठका अनुसार वैशाख महिनामा पनि कर्णालीमा फेरि खोप अभियान सञ्चालन गरिने छ । वैशाखमा सञ्चालन हुने अभियान खोप कभरेज कम भएका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा केन्द्रित हुनेछ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार खोप कभरेज बढाउन कोभिड–१९ खोप लगाइएको हो । हाल खपत भएको खोप अनुसार आगामी दिनमा पनि खोप कभरेज कम भएका जिल्ला र पालिकामा थप अभियान सञ्चालन गर्नुपर्ने छ । खोप अभियान सञ्चालन पूर्वअभियानलाई प्रभावकारी बनाउन स्थानीय खोप समन्वय समिति र स्वास्थ्यकर्मीसँग छलफल गरिएको थियो ।