सुर्खेत समाचारदाता
सुर्खेत, चैत ७ गते । कर्णाली प्रदेशको राजधानी घोषणा भएसँगै आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी वीरेन्द्रनगरमा स्तरीय होटल खुल्ने क्रम बढेको छ ।
सुर्खेतको नगरकोट भनेर चिनिने वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा करिब २१ करोडको लागतमा स्टे होटल भ्याली भ्यु सञ्चालन गरिएको बताइन्छ । युवा व्यवसायी तर्कबहादुर शाहीले गढीको अग्लो डाँडामा एक बिघा जग्गामा सो होटल सञ्चालन गर्नुभएको हो । उहाँले मानसरोवर जाने भारतीय पर्यटक तथा मुगुको रारा जाने आन्तरिक पर्यटकलाई लक्षित गरी सो स्थानमा होटल सञ्चालन गरिएको बताउनुभयो ।
त्यसअघि शाहीले वीरेन्द्रनगर बजारमा होटल भ्याली भ्यु र जुम्लाको चन्दननाथ बजारमा रारा स्टे भ्याली भ्यु रिसोर्ट सञ्चालन गरेका थिए । उहाँले प्रदेश राजधानी घोषणा भएपछि यहाँ गरिने प्रदेशस्तर तथा सङ्घीय कार्यक्रमका लागि स्तरीय होटलको आवश्यक हुने भएकाले अग्लो डाँडामा स्तरीय होटल सञ्चालनमा ल्याएको बताउनुभयो । नेपाल होटल व्यवसायी महासङ्घका कर्णाली प्रदेश अध्यक्ष शाहीका अनुसार कर्णालीमा अझै स्तरीय होटल स्थापना गरिनु पर्छ ।
सेवा सुविधा स्तरीय दिने खालका होटलको खाँचो रहेको छ । होटल व्यवसायी महासङ्घ सुर्खेतका अध्यक्ष ऐनबहादुर शाहीले प्रदेश राजधानीमा अब सानाभन्दा ठुला होटलको आवश्यकता बढ्दै गएको र खुल्ने क्रमसमेत बढेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सेवा सहुलियत दिन सके कर्णालीको होटल क्षेत्रमा अझ लगानी भित्रिने जिकिर गर्नुभयो । सुर्खेतमा शुभ होटेल, सिद्धार्थ होटल जस्ता तारे होटल सञ्चालनमा छन् । त्यसपछि होटल डि नमस्ते, होटल नमस्तेलगायतका होटल पनि पर्यटकलाई लक्षित गरी स्थापना गरिएका छन् ।