दोलखा समाचारदाता
दोलखा, चैत ४ गते । सदरमुकाम चरीकोटस्थित चरीकोट खानेपानी तथा सरसफाइ संस्था चरीकोटको लापरबाहीले लाखौँलाखको पानीको बिल आउँदा उपभोक्ताको उठिबासको अवस्था आएको छ ।
भीमेश्वर नगरपालिका–६ की दुर्गा भुजेलको पुसको भनिएको प्रयोग नगरिएको पानीको पाँच लाख ९८ हजार २१० रुपियाँ बिल आएपछि उठिबास हुने डरले बेहोस हुनुभएको दुःखेसो पोख्नुभएको छ ।
“पानी प्रयोग नै गरिएको छैन । मिटरबाट पानी चुहिरहन्छ,” उहाँले रुन्चे स्वरमा भन्नुभयो, “नपत्याउने गरी त्यत्रो बिल आउँदा म त बेहोस भएछु । पछि होसमा आएर फेरि हेरेँ, हेरेको हे¥यै भएछु । श्रीमान र छोराछोरीलाई देखाएँ । सबै हतप्रभ भए । अझै होसमा छु जस्तो लाग्दैन ।”
“अरू महिनाको त थाहा छैन,” उहाँले भन्नुभयो, “मङ्सिरको पनि ५९ हजारको प्रयोग नै नगरेको पानीको बिल आएको रहेछ । कार्यालयमा गएर गुनासो गर्दा पहिला त कम्प्युटरले गल्ती गर्दैन भन्ने कुरा आयो । धेरै अनुनय विनय गर्दा बल्ल तपाईंको मिटर बिग्रेको परेछ । अर्को नयाँ मिटर जडान गरिदिन्छौँ । यो पैसा तिर्नु पर्दैन त भनियो तर विश्वास लागेको छैन । मसँग दुई लाख रुपियाँको घर छैन । पानीको बिल लाखौँ कसरी तिरौँ ?”
“कार्यालयले दिएको आश्वासनले अझै चित्त बुझेको छैन,” उहाँले भन्नुभयो, “मलाई कसले न्याय देला । म गरिब साह्रै अन्यायमा परेँ । कहिले त आत्महत्या गरुँ कि जस्तो पनि लाग्न थालेको छ । संस्थाले आत्महत्या गर्न ठाडै दुरुत्साहन गरेको छ । धेरैको यो हाल हुने मैले देखेकी छु ।”
दुर्गा त एक उदाहरण मात्र हुनुहुन्छ । धेरैको यही अवस्था हुन पुगेको छ । साढे पाँच हजारभन्दा बढी उपभोक्तालाई चौबिसै घण्टा र स्वच्छ पानी दिने आश्वासनमा गुणस्तरहीन सामान प्रयोग गरी उठिबास बनाउन लागेको उपभोक्ताको गुनासो रहेको छ ।