• २० वैशाख २०८१, बिहिबार

ओली र हमालबिच कला संवाद

blog

काठमाडौँ, चैत २ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली  र नायक राजेश हमालबिच कला संवाद भएको छ । संवादमा कला तथा सिनेमा क्षेत्रका बारेमा बहस भएको छ । 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानवजीवन र कलालाई केन्द्रमा राखेर सो संवाद भएको हो । सन् २०१८ मा ओली नेतृत्वको सरकार कलाकारसहित भारत भ्रमणमा गएको प्रसङ्ग जोड्दै हमालले कला अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित रहेकाले अन्य क्षेत्र जस्तै कला क्षेत्रमा पनि राजनीतिको रङ आउने बताउनुभयो । त्यस्तै ओलीले पनि मानव सभ्यता अहिलेको अवस्थामा आइपुग्न कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

कलालाई कसरी लिनुभएको छ भन्ने हमालको प्रश्नमा ओलीले भन्नुभयो, “जीवन नै कलासँग सम्बन्धित छ । मानव सभ्यता कृषि, पशुपालनमा जाँदा पनि जङ्गली जनावरलाई तालिम दिने कला चाहिन्थ्यो ।’’ साथै सुरक्षा, सिकाइ तथा बाँच्नका लागि गर्नुपर्ने सबै काम कला रहेको उहाँले जोड दिनुभयो । 

हस्तकला, चित्रकला, साहित्य तथा सिनेमा जस्ता कलाका फरक माध्यम पनि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “टुँडालदेखि अनुहारसम्म कुनै पनि वस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु कला हो । यसरी नै संस्कृतिको विकास भएको हुन्छ । कलासंस्कृति, साहित्य र जीवन जोडिएर आएको हुन्छ ।” 

जीवनको तितो यथार्थलाई झेल्नका लागि कलाले खेल्ने भूमिकाका बारेमा हमालले जिज्ञासा राख्दा जवाफमा ओलीले भन्नुभयो, “सक्रिय मान्छे अचेत भएर सुतेको पनि हुन्छ । मानवजीवनका विभिन्न पक्ष, अवस्था, परिस्थिति हुन्छन् । त्यसलाई कसरी झेल्ने भनेर पनि कलाको विकास भइरहेको हुन्छ । आधारभूत कुरा जीवन हो । कला नबुझेका मान्छेले पनि बाँचेका हुन्छन् तर मानवजीवन फरक छ । अर्थपूर्ण रूपमा बाँच्न खोज्छ । त्यसका लागि कला चाहिन्छ ।” 

ओलीले भन्नुभयो, “युवावस्थाको मान्छेले दालभात मात्र भन्दैन, उसले आफूलाई प्रेमसँग जोड्छ, आमाले सन्तानप्रतिको स्नेह, माया ममता जोड्छ, मायाले जाडो मेट्दैन तर जाडो बिर्साउने क्षमता राख्छ । कलाको महìव पनि दैनिक जीवनमा त्यस्तै हुन्छ ।” हमालको एक जिज्ञासामा ओलीले कला भावनाबाट प्रेरित भए पनि राजनीति भने यथार्थबाट प्रेरित हुने बताउनुभयो ।