• १३ साउन २०८१, आइतबार

बढ्यो विदेशी लगानी प्रतिबद्धता

blog

काठमाडौँ, चैत ३ गते । चालुु आर्थिक वर्षको फागुुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालुु आवको फागुुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो । 

अघिल्लो माघ महिनामा विदेशी लगानी प्रतिबद्धता घटेर ३४ करोड ५० लाख रुपियाँमा झरेको थियो । फागुुन महिनामा आएर भने लगानी प्रतिबद्धतामा ह्वात्तै बढेको हो । विभागका अनुसार आठ महिनामा कुुल विदेशी लगानी प्रतिबद्धता २१३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपियाँ आएको छ । 

चालुु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो । त्यसपछि घट्दै गएर फागुुनमा आएर पुुनः बढेको हो । वैदेशिक लगानीको प्रतिबद्धतासँगै मुलुकमा भित्रिने रकममा समेत वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो ।

फागुनसम्म लगानी ल्याउने प्रतिबद्धता जनाएका विदेशी नयाँ परियोजनामध्ये २३८ परियोजना, मझौला १२ र ठुला तीन परियोजना उद्योग विभागमा दर्ता भएका छन् । यस्तै यसै अवधिमा पर्यटन क्षेत्रका ११५, सेवा क्षेत्रका ८८, उत्पादनमूलक क्षेत्रका ३३ परियोजना विभागमा दर्ता भएका छन् । आठ महिनामा विभागमा सूचना तथा प्रविधि क्षेत्रका आठ, पूर्वाधार क्षेत्रका छ, कृषि क्षेत्रका चार र खानीजन्य क्षेत्रका दुई परियोजना विभागमा दर्ता भएका हुन् । २३८ परियोजना, मझौला १२ र ठुला तीन परियोजना उद्योग विभागमा दर्ता भएका छन् । पर्यटन क्षेत्रका ११५, सेवा क्षेत्रका ८८, उत्पादनमूलक क्षेत्रका ३३ परियोजना विभागमा दर्ता भएका छन् । 

विभागका अनुसार पुस महिनामा २७ वटा परियोजनामा एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपियाँ प्रतिबद्धता आएको थियो । मङ्सिर महिनामा २१ वटा परियोजनाका लागि दुई अर्ब २५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिक महिनासम्म २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । 

गत असोज महिनामा ४० परियोजनामार्फत एक अर्ब ९८ करोड रुपियाँको प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ६९ करोड रुपियाँ को प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० परियोजनामार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धता पर्यटन, सूचनामूलक र सेवा क्षेत्रमा बढी आउने गरेको छ । सुरुदेखि हालसम्म छ हजार ११२ परियोजनामार्फत चार खर्ब ७९ अर्ब १० करोड ३४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको न्यून रकम मात्र नेपालमा भित्रिने गरेको छ ।