• १३ साउन २०८१, आइतबार

कृषकलाई अनुदानमा मकैको बिउँ वितरण

blog

इमान सिं राना

रामपुर (पाल्पा), फागुन ३० गते । रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ । खडेरीका कारण यस वर्ष मकैको उत्पादन ह्रास आउनुका साथै र बिउँको अभाव भएपछि कृषकहरुलाई ५० प्रतिशत अनुदान बिउँ उपलब्ध गराएको हो ।

कृषकको माग अनुसारका यहाँको हावापानीमा उत्पादन हुने ३ जातका मकैको बिउँ वितरण गरेको हो । यस वर्ष लामो समय खडेरीका कारण मकै उत्पादनमा ह्रास आएको र बिउँको समेत अभाव देखिएकाले मकैको बीउ वितरण गरिएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । 

कृषकको राहत र प्रोत्सहानका लागि पालिकाले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो । नगरपालिकाले मागको आधारमा कृषक र कृषि सहकारी गरी ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको बीउ वितरण गरेको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताउनुभयो । 

कृषकहरुलाई मनकामना–३ , अरुण–२ र रामपुर कम्पोजिट गरी ३ जातका मकैको बिउँ वितरण गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाले खाद्यान्न बिउँ ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अन्तर्गत १५ लाख रुपियाँ बराबरको बिउँ वितरण गरेको हो ।