• १३ साउन २०८१, आइतबार

आत्मा निर्भरताका लागि श्रममा जुटेका हौँ : महासचिव चन्द

blog

पत्रकार सम्मेलनमा बोल्दै नेकपा महासचिव नेत्रविक्रम चन्द । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, फागुन २९ गते। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आर्थिक आत्मनिर्भरताका लागि श्रममा जोडिएको बताउनुभयो। लामो सङ्घर्ष र क्रान्तिपछि नेपाल नयाँ परिवेशमा रहेको भन्दै पार्टीलाई चन्दाको भरमा परिचालन गर्नु भन्दा आफै आर्थिक उपार्जनका काममा केन्द्रित भएको बताउनुभएको छ। 

राजनीति भनेको सरकार, संसद् मात्र होइन, जनताको जीवन उकास्ने विषय पनि भएकाले आफ्नो पार्टी उत्पादनमा जोडिएको सुनाउनुभयो। मुलुकको खस्किँदो आर्थिक अवस्थालाई लयमा ल्याउनका लागि आफ्नो पार्टी उत्पादन अभियानमा जुटेको र यसले देशलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो।

कालीकोटको तिलागुफा फोइमहादेव र जुम्लाको पाथरखोलामा एक हजार स्याउका बिरुवा रोपेर कालीकोट सदरमुकाम फर्किनु भएका नेकपा महासचिव चन्दले पत्रकारसँग संक्षिप्त कुरा गदै मुलुक आर्थिक मन्दीमा जानबाट रोक्न र देशका अन्य राजनीतिक पार्टीलाई श्रम गरेर पार्टी सञ्चालन गर्नु पर्छ भनेर सिकाउनका लागि तराईमा धान, गहुँ, तोरी, तरकारी र पहाडमा स्याउलगायत फलफूल उत्पादनको आन्दोलनमा जोडिएको बताउनुभयो। 

महासचिव चन्दले जनताको जमिन भोक चलन गरेर आधा आफू र आधा जनतालाई दिनका लागि श्रम अर्थात् ठाउँ अनुसारको खेतीमा जुटेको बताउनुभयो।  

पत्रकारले राखेको प्रश्नमा उहाँले तत्काल पार्टी एकताको सम्भावना नरहेको बरु समाजवादी मोर्चालाई मुलुकको सुरक्षा र विदेशीको हस्तक्षेपबाट मुक्त गर्ने सवालमा भने छलफल भइरहेको बताउनुभयो।