• २४ जेठ २०८२, शनिबार

बागलुङ नगरका खानेपानी योजनालाई बजेट विनियोजन

blog

निर्माणाधीन काठेखोला लिफ्टिङ आयोजना । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, जेठ २४ गते ।
आगामी आर्थिक वर्ष बागलुङ नगरका खानेपानी आयोजनाका लागि साढे १० करोड बजेट विनियोजन भएको छ । खानेपानी मन्त्रालयका अनुसार, बागलुङ नगरका खानेपानी योजनालाई बजेट विनियोजन भएको हो ।

कालीगण्डकी भैरवस्थान लिफ्टिङ खानेपानी आयोजनाका लागि तीन करोड रुपियाँ विनियोजन भएको हो । विशेषगरी खानेपानीका योजनामा वर्षेनी १० देखि २० लाख रुपियाँ मात्रै बजेट विनियोजन हुँदा काम समयमा अगाडि बढ्न नसकेको अवस्थामा यो अङ्कको बजेटले निर्माणाधिन अवस्थामा रहेका योजनाहरुको काममा प्रगती हुने आशा जगाएको बागलुङ नगरपालिका १२ अमलाचौरका वडा अध्यक्ष कोपिलामणि शर्माले विश्वास व्यक्त गर्नुभयो ।

त्यस बाहेक बागलुङ नगरपालिका–७ को कालीमाटी बस्ती र स्वास्थ्य चौकीका लागि खानेपानी व्यवस्थापन गर्न तीन करोड बजेट परेको हो । त्यस्तै बागलुङ नगरपालिका–१ खुदुर्केस्थित लक्ष्मी नारायण मन्दिरका लागि खानेपानी आयोजना निर्माण गर्न २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । उक्त बजेटले कालीगण्डकी नदी किनारमा अवस्थित मन्दिर तथा इस्कोनमा पनि खानेपानी पुग्ने विश्वास लिइएको छ ।

बागलुङ नगरपालिका– १२ कै अमलाचौर बृहत लिफ्टिङ खानेपानी आयोजनाका लागि थप तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ । यो बजेटले वडाका बस्ती बस्तीमा खानेपानीको समस्या हट्ने वडाध्यक्ष शर्माले बताउनुभयो । त्यस बाहेक बागलुङ बजारमा वर्षातमा खानेपानी व्यवस्थापनका लागि ७० लाख रुपियाँ बजेट छ । साना सहरी खानेपानी आयोजना सञ्चालित बजारको मुख्य क्षेत्रका लागि थप बजेट विनियोजन भएको छैन ।

यसअघि नै निर्माण भएर खानेपानी वितरण भइसकेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पानी व्यवस्थापन, आयोजनाको प्रशोधन व्यवस्थापन सुधारका लागि ७० लाख रुपियाँ विनियोजन भएको छ । हाल नारायणस्थानमा लिफ्ट पानीलाई घरघरमा धारा बनाएर वितरण गरिएको छ । बागलुङ नगर उपप्रमुख राजु खड्काले ती योजनाले आम नागरिकमा पानीको आपूर्तिबारे आशा पलाएको बताउनुभयो ।

बागलुङ बजारमा खानेपानीको सास्ती छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोला किनारमा निर्माणाधिन बागलुङ नगर सहलगानी (काठेखोला लिफ्टिङ खानेपानी) आयोजना कहिले पूरा हुन्छ यकिन छैन । नगर विकास कोषबाट लिएको ऋणको साँवाब्याज तिर्दैमा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था थला परेको छ । हाल संस्थाले वर्षेनी ८० लाखभन्दा धेरै रकम साँवाब्याज तिर्दै आएको छ । हाल विनियोजित बजेटले खानेपानीको क्षेत्रमा ठुलो उपलब्धी हुने उपप्रमुख खड्काको भनाइ छ ।