• १३ साउन २०८१, आइतबार

‘विश्वासको मत पाइसकेपछि प्राथमिकतासाथ काम हुन्छ’

blog

पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्नुहुँदै मन्त्री दामोमदर भण्डारी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन २९ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वासको मत पाइसकेपछि सरकारले आफ्नो काम प्राथमिकतासाथ अगाडि बढाउने बताउनुभएको छ । 

आज धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान अवस्थामा देखा परिरहेका सङ्कटलाई सुधार गर्ने गरी सरकारले काम अगाडि बढाउने बताउनुभएको हो । उहाँले भन्नुभयो,“मुलुकको आर्थिक अवस्था सङ्कुचनमा छ । राजस्व सङ्कलन न्यून रहेको छ । वर्तमान सत्तागठबन्धनले यसमा सुधारको कार्य गर्नेछ ।”

मुलुकमा असान्दर्भिक गठबन्धन भत्केर अग्रगामीहरूबिचको नयाँ सत्ता गठबन्धन बनेको मन्त्रीको भनाइ थियो । उहाँले थुप्रै प्रभावकारी मुद्दा अघिल्लो सरकारले अगाडि बढाउन नसकेको जिकिर गर्नुभयो । यस्तै पत्रकारको एक प्रश्नको जवाफमा उहाँले निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी पनि वर्तमान गठबन्धनमा आउने विश्वास व्यक्त गर्नुभयो । 

“गठबन्धनमा आउने कि प्रतिपक्षमा बस्ने भन्ने कुरा उहाँहरूको निजी विषय हो”, मन्त्रीले भन्नुभयो,“नागरिक उन्मुक्तिले अहिलेसम्म स्पष्ट नीति नराखे पनि जहाँसम्म सत्ता गठबन्धनमा आउने हामीले विश्वास गरेका छौँ ।”

यसैगरी, मुलुकमा लगानीको वातावरण बनाउनमा सरकारको तत्परता रहने मन्त्री भण्डारीको भनाइ थियो । उहाँले उद्योगमैत्री वातावरण बनाउने कार्यमा आफ्नो विशेष प्राथमिकता रहने बताउनु भएको छ । मन्त्री भण्डारीले अहिलेसम्म मुलुकमा लगानीको वातावरण बन्न नसक्नुको कारण सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलनमा खोजिने उल्लेख गर्नुभयो । 

आफूले दोस्रो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएकाले सुदूरपश्चिमको उद्योग र खानीसँग सम्बन्धित विषयलाई प्राथमिकताकासाथ अगाडि बढाउने मन्त्रीको भनाइ थियो । 

सुदूरपश्चिममा रहेको ठुला आयोजनालाई अगाडि बढाउने कुरा सरकारको इच्छाशक्तिमा भर पर्ने गरेको स्पष्ट पार्दै मन्त्री भण्डारीले आवश्यकता र सान्दर्भिकताका आधारमा यहाँका योजनाहरूलाई सरकारले प्राथमिकता दिनु पर्ने जिकिर गर्नुभयो ।