• १३ साउन २०८१, आइतबार

अनुकरणीय कार्य गर्नेलाई सम्मान

blog

रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरिँदै ।

अविनाश चौधरी

धनगढी, फागुन २९ गते । धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न क्षेत्रमा आवद्ध भएर अनुकरणीय कार्य गर्दै आएका व्यक्तित्वलाई सम्मान गरेको छ । 

उनीहरुले दिएको योगदानको कदर गर्दै पाठशालाले सम्मान गरेको हो । सम्मानित हुनेमा उत्कृष्ट पेशाकर्मी डा. मिराज आलम अन्सारी, उद्यमी डिल्लीराज अवस्थी, सामाजिक अभियन्ता यादवप्रसाद जोशी, युवा उद्यमी हिक्मत कुँवर, अनुकरणीय व्यक्ति क्याप्टेन वेद उप्रेती, वरिष्ठ समाजसेवी ओमप्रकाश अग्रवाललाई रहनुभएको छ । 

यसैगरी, सामाजिक अभियन्ता एवम् दृष्टि फाउन्डेशनका संस्थापक कल्पना भट्ट, विलक्षण प्रतिभाका व्यक्तित्व नन्दराज भट्ट, प्रेरणादायी युवा एवम् वडा अध्यक्ष गजेन्द्र शाही, बहुआयामिक युवा हरि जोशी, युवा उद्यमी मानसिंह साउद सम्मानित हुनुभएको छ । 

यस्तै, गणेशबहादुर सिंहलाई स्वास्थ्य सेवा सम्मान, पत्रकार दीर्घराज उपाध्यायलाई चैतन्य सकारात्मक सोंच प्रवर्धन सम्मान, १०४ पटक रक्तदान गर्ने रक्तदाता दीपकप्रसाद उपाध्याय लगायतलाई सम्मान गरिएको छ । 

यस्तै, पाठशालाले तीन जनालाई पुरस्कृत गरेको छ । वरिष्ठ साहित्यकार यज्ञराज यात्रीलाई चैतन्य साहित्य साधना पुरस्कार २०८०, तेक्वान्दो प्रशिक्षकलाई चैतन्य खेल साधना पुरस्कार २०८० प्रदान गरिएको छ ।  

दुवै पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले जानकारी दिनुभयो । यसैगरी, ठाडाे भाकाको गायिका डिक्रादेवी गाइनेलाई चैतन्य कला संस्कृति साधना पुरस्कार २०८० प्रदान गरिएको छ । सो पुरस्कारको राशि १० हजार रुपियाँ छ । 

यस्तै, पाठशालाका संस्थापक प्रधानाध्यापक उदयप्रताप सिंहलाई चैतन्य संस्थापक प्रधानाध्यापक एवम् सञ्चालक सम्मान प्रदान गरिएको छ । यसैगरी, रवि साउद, कटकबहादुर सिंह, कल्पना पाठक, सपना सिंह र प्रसादी चौधरीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ ।