काठमाडौँ, फागुन २७ गते । मुलुकको अर्थतन्त्र मापन (राष्ट्रिय लेखामान) मा महत्वपूर्ण मानिने आधार (बेस) वर्ष परिवर्तन गरिने भएको छ । अर्थतन्त्रमा पछिल्लो समय भित्रिएका नयाँ प्रवृत्ति र क्षेत्रसमेत सामेल गर्ने गरी आधार वर्ष परिवर्तनको तयारी सुरु गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले जानकारी दिनुभयो ।
आधार वर्ष परिवर्तनपूर्व करिब ४० वटा विभिन्न किसिमका सर्वेक्षणको काम अघि बढाइएको उहाँले बताउनुभयो । नेपालले अहिले सन् २०१०/११ लाई आधार वर्ष मानेर सो समयका स्थिर सूचकका आधारमा अर्थतन्त्रको आकार गणना गर्दै आएको छ ।
आर्थिक वर्ष सन् २०१८/१९ देखि सो आवलाई आधार वर्ष मानेर गणना सुरु गरिएको हो । सो आधार वर्षको आधारमा गणना सुरु भएको चार वर्ष पूरा नहुँदै तथ्याङ्क कार्यालयले नयाँ आधार वर्षका आधारमा अर्थतन्त्र मापनको प्रारम्भिक तयारीका काम अघि बढाएको हो । तथ्याङ्क अधिकारी रेग्मीका अनुसार आव सन् २०२०/२१ लाई आधार वर्ष मानेर कुल गार्हस्थ उत्पादनको गणना गर्न लागिएको हो । उहाँका अनुसार सन् २०२५ को अन्त्यसम्म सर्वेक्षण पूरा गरेर सो आवका आधारमा गणना गर्ने योजनाका साथ कार्यालयले काम गरिरहेको छ ।
अर्थतन्त्रमा महत्वपूर्ण योगदान भएका तर विशिष्टीकृत क्षेत्रका रूपमा उल्लेख नगरिएका सूचना प्रविधि, डिजिटल कारोबारलगायतका आर्थिक गतिविधिलाई समेट्ने तयारी कार्यालयको छ । त्यस्तै नेपालमा सिमेन्ट उत्पादन बढिरहेको भए पनि पुरानै भार (वेटेज) का आधारमा गणना भइरहेकाले यसको भारका सन्दर्भमा पनि पछिल्लो आधार वर्षमा पुनरवलोकन हुन सक्ने रेग्मीले जानकारी दिनुभयो । यसबाहेक मुस्लिम समुदायले दिने दानको हिस्सा पनि अर्थतन्त्रमा देखिन थालेको त्यसको अध्ययन पनि गर्ने कार्यालयको तयारी छ ।
आव सन् २०१८/१९ मा परिवर्तित आधार वर्षका आधारमा गणना सुरु गरिनुपूर्व नेपालले आव सन् २००१/०२ लाई आधार मानेर राष्ट्रिय लेखामान तयार गर्दै आएको थियो । उक्त आधार वर्षको आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको ठहर गर्दै चार वर्षअघि यसलाई परिवर्तन गरिएको थियो । यसरी आधार वर्ष परिवर्तन गर्दा कृषि र उत्पादन क्षेत्रको हिस्सा अर्थतन्त्रमा घट्दै गएको र अर्थतन्त्रमा नयाँ क्षेत्रको प्रवेश देखिन थालेको कार्यालयले उल्लेख गरेको छ । अर्थतन्त्रमा देखिने यस किसिमको बदवाल हेर्नका लागि पनि आधार वर्ष परिवर्तन महत्वपूर्ण हुने उपप्रमुख तथ्याङ्क अधिकारी रेग्मीले बताउनुभयो ।
त्यस्तै अनौपचारिक अर्थतन्त्रको भूमिका पनि यसबाट हेर्न सकिने उहाँले उल्लेख गर्नुभयो । “बुकिङ एप, ट्रिप एड्भाइजर जस्ता भर्चुअल कारोबार गर्ने प्रवृत्ति पनि बढिरहेको छ,” उहाँले भन्नुभयो, “यसबाहेक टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालबाट हुने अप्रत्यक्ष खर्च पनि बढिरहेकाले त्यसको पनि अनुमान गर्ने प्रयास गरेका छौँ ।” यस किसिमका अप्रत्यक्ष खर्चको अनुमान गर्दा अर्थतन्त्रको आकार बढ्न सक्ने सम्भावना पनि रहने उहाँको भनाइ छ ।
मुलुकको अर्थतन्त्रको आर्थिक वृद्धिदर र अर्थतन्त्रसँग सम्बन्धित सूचकको तुलनात्मक अध्ययनका लागि आधार वर्षको प्रयोग गरिन्छ । विगतमा आधार वर्ष परिर्वतनको तयारीको छिट्टै सुरु भए पनि नतिजा मात्र ढिला आएकाले यस पटक सन् २०२५ भित्रै त्यस्तो नतिजा ल्याइसक्ने विभागको लक्ष्य छ ।