• १६ भदौ २०८१, आइतबार

उद्यमी महिलालाई सम्मान

blog

११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुनसरीको रामधुनीमा सम्मानित महिलाहरू । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, फागुन २५ गते । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रामधुनीनगर पालिका क्षेत्रका महिला उद्यमीहरूलाई सम्मान गरिएको छ । नगरपालिकाको सहयोगमा थारु महिला सभा रामधुनीको आयोजना र सेभ द अर्थ सुनसरीको समन्वयमा नगरक्षेत्रका १२ जना अग्रसर, नेतृत्वकर्ता महिलाहरूलाई सम्मान गरिएको हो ।

११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रमबाट उद्यमी, व्यवसायी, शैक्षिक, प्रशासनिक तथा समाज सेवामा अग्रसर र योगदान दिएका महिलाहरूलाई सम्मान गरिएको छ । रामधुनी नगरका उद्यमी र व्यवसायी क्षेत्रमा महिला नेतृत्वको अग्रसर, प्रोत्साहन र योगदानको मूल्याङ्कन गर्दै नगर क्षेत्रका १२ महिलाहरूलाई सम्मान गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।   

सम्मानित हुनेमा शैक्षिक तथा सामाजिक सेवामा योगदान पुर्‍याउने रामधुनी ३ निवासी हिरा रिजाल र प्रशासनिक र सामाजिक क्षेत्रमा योगदान दिने रामधुनी १ निवासी अम्बिका रिजाल रहनुभएको छ । त्यस्तै उद्यमी व्यवसायीतर्फ विमला दर्जी, चिजा माझी, चूडामणि कुमारी चौधरी, यमुना श्रेष्ठ, नितु कुमारी चौधरी, कल्पना चौधरी, कमला ढकाल, शर्मिला दर्जी, सिता चौधरी, गीता चौधरी सम्मानित हुनुभएको थारु महिला सभा रामधुनी नगर सभापति लिली चौधरीले जानकारी दिनुभयो । 

रामधुनी नगर प्रमुख शङ्करलाल चौधरीको प्रमुख आतिथ्यमा सम्मानित हुने महिला उद्यमी व्यवसायीहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुने रामधुनी वडा नम्बर ३ निवासी विमला दर्जीले पाथीभरा नुडल्स उद्योग दर्ता गरी नुडल्स तथा थुक्पा उत्पादन गर्दै आउनुभएको छ । उहाँले थुक्पा उत्पादनबाटै मासिक रु एक लाख १५ हजार आम्दानी गर्दै आउनुभएको छ ।

उद्यमी नेतृत्व महिलाबाट सम्मानित रामधुनी वडा नम्बर ७ निवासी चिजा माझी टेलर सञ्चालन गरी सिलाई कटाई व्यवसाय गर्दै आउनुभएको छ । रामधुनी वडा नम्बर १ निवासी मणि टेलर सञ्चालिका चूडामणि कुमारी चौधरीलाई सम्मान गरेको छ । उहाँ १८ वर्षदेखि सिलाई कटाई उद्यम तथा व्यवसाय गर्दै आउनुभएको हो । त्यस्तै, रामधुनी २ की तुलसा तयारी ड्रेस गार्मेन्ट व्यवसायी, नितु कुमारी चौधरी गार्मेन्ट उद्योग सञ्चालन गर्दै आउनुभएको छ । 

वडा नम्बर ३ की यमुना श्रेष्ठले पिएन बेकरी उद्योग संचालनगरी बिस्कुट, पाउरोटी उत्पादन गर्दै आउनुभएको छ । रामधुनी सामुदायिक होमस्टे सञ्चालिका वडा नं ४ की कल्पना चौधरीलाई चौधरी जातजातिको परम्परागत सांस्कृतिक जर्गेना तथा पर्यटन विकासमा सहयोग पुर्‍याएकाले सम्मान गरेको छ । 

सम्मानित व्यवसायी वडा नम्बर पाँचकी कमला ढकाल दुर्गा कृषि फर्म व्यवसाय दर्ता गरी बाख्रा, कुखुरा पालन गर्दै आउनुभएको छ । सदिच्छा सप्लायर्स सेन्टरकी होटेल, टेलर सञ्चालिका रामधुनी ६ निवासी सिता चौधरी, वडा ८ की बङ्गुर फार्म व्यवसायी शर्मिला दर्जी, मासु पसल व्यवसायी रामधुनी ९ निवासी गीता चौधरीलाई सम्मान गरेको छ ।

महिला अधिकार कर्मी सिता थरुनीले सञ्चालन गरेको कार्यक्रम  जिल्ला समन्वय समिति सदस्य लाल कुमारी चौधरी, उत्थान नेपाल संस्था अध्यक्ष सिर्जना सुन्दास, थारु महिला सभा जिल्ला सभापति सुशीला लेखी, झुम्का जेसिज अध्यक्ष आशा चौधरी, प्रस्तावित इलाका रामधुनी प्रहरीका सुजन मुदेल, थारु महिला उत्थान समाज रामधुनी अध्यक्ष आशा चौधरी लगायतका महिला सशक्तीकरण अभियान्ताहरुको उपस्थिति थियो ।