खोटाङ समाचारदाता
खोटाङ, वैशाख १२ गते । खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो ।
खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कट्वाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ दम्पतीलाई सम्मान गरिएको हो । फरक–फरक समुदायका भए पनि विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान गरिएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले जानकारी दिनुभयो ।
दलित लक्षित कार्यक्रम अन्तर्गत गाउँपालिकाले विनियोजन गरेको रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँ कार्य समितिले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो । सङ्घले आयोजना गरेको वडास्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपाध्यक्ष राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गर्नुभएको हो । जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह बन्धनमा बाँधिएका दम्पतीलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ गाउँ कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो । प्रत्येक दम्पतीलाई दुई हजार रुपियाँ यातायात खर्च प्रदान गरिएको छ । अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौ वटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।
कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछुतका विषयमा प्रस्तुति दिनुभएको थियो ।