हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १२ गते । जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रमुख भुवन क्षेत्रीले बेनी–जोमसोम–कोरला नाका हुँदै मुस्ताङ जिल्लामा प्रवेश गर्ने सवारीसाधनलाई रोकेर सम्मानपूर्वक चालकलाई स्वागत गर्दै यात्राका बारेमा जिज्ञासा राख्नुहुन्छ ।
तल्लो र उपल्लो मुस्ताङ जाने पर्यटकलाई सडकको अवस्था, लेक लाग्दा अपनाउनुपर्ने सावधानी, होटेलसहित विद्युतीय उपकरणसहित सीमा क्षेत्रमा हुने जोखिमका बारेमा सचेतनामूलक सन्देश यात्रु र चालकलाई दिएर अन्तिममा यात्रा सुरक्षित रहोस् भनी कामना गर्दै नमस्कार गरेर बिदा गर्नुहुन्छ ।
‘सवारीचालकसँग एक मिनेट तथा यात्रुसँग दुई मिनेट’ कार्यक्रममा प्रमुख क्षेत्रीसँगै सात जना ट्राफिक प्रहरीले दैनिक सडकमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । सडक सञ्जालबाट आउनेलाई घरपझोङ गाउँपालिकाको प्रवेशद्वार घाँसासहित सदरमुकाम जोमसोमसम्म विभिन्न स्थानमा कार्यक्रम गर्ने गरिएको छ । ट्राफिक प्रमुख क्षेत्री भन्नुहुन्छ, “बिनाजानकारी आउने पर्यटकले दुःख पाएका छन्, यात्रा गर्ने क्षेत्र अनुसार सावधानी अपनाउन अनुरोध गर्छौं ।”
अभियानको क्रममा यात्रुलाई बोकेर आएका भाडाका सवारीसाधनका साथै दुई पाङ्ग्रेका चालकलाई ट्राफिक नियम, मादक तथा नसाजन्य चिजवस्तु सेवन नगर्न र सेवन गरी सवारीसाधन नचलाउन, अनिवार्य रूपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग, हेल्मेटको फित्ता लगाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन, विदेशी पर्यटकलाई अर्ध निषेधित क्षेत्रमा लैजाँदा आवश्यक कानुनी प्रक्रिया र सुरक्षा मापदण्डका बारेमा गराइएको जानकारी प्रभावकारी देखिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ । हालै उपल्लो मुस्ताङ पुगेर फर्किनुभएका म्याग्दी बेनी नगरपालिका–४, सुर्केमेलाका युवराज रोकाले सडकमै मुस्ताङका विभिन्न रुट तथा त्यहाँको नियमका बारेमा ट्राफिक प्रहरीले दिएको सूचनाले सहज भएको बताउनुभयो ।
रोकाले भन्नुभयो, “सुरक्षित यात्राका लागि ट्राफिकको नियम पालना गर्नु पर्छ, मुस्ताङका ट्राफिक प्रहरी यात्रुमैत्री हुनुहुन्छ ।’’ मुस्ताङमा आउने पर्यटकले सामान्य तयारीसमेत नगरी आउँदा समस्या भोग्नु परेपछि ट्राफिक प्रहरीमार्फत नियमित सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
अधिकारी भन्नुहुन्छ, “पहिलो पटक मुस्ताङ आउने पर्यटकलाई यो अभियानले धेरै राहत मिलेको छ । समुदायसँग प्रहरीमा पनि पर्यटकमैत्री अभियानमै जोड दिएका छौ ।” अभियानबाट मासिक चालकसहित १० हजारभन्दा बढी यात्रु लाभान्वित हुने गरेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।