सर्प देख्नेबित्तिकै प्रायः मानिसको शरीर सिरिङ्ङ हुन्छ । विषालु सर्प घातक हुन्छन् र तिनले टोकेमा हाम्रो ज्यान जान सक्छ तर सर्पको राम्रो पक्ष पनि छ । त्यो के हो भने कृषि उत्पादनमा नोक्सान पुर्याउने मुसालगायत अन्य जीव खाएर यसले अन्नबाली बचाउन सहयोग गर्छ ।
ठूला र अविषालु सर्पले साना र विषालु सर्प खाइदिएर पनि मानिसको सहयोग गर्छन् । जैविक विविधताको विशाल भण्डारमा सर्पको बेग्लै महत्व छ र यसले पारिस्थितिक प्रणालीमा पनि भूमिका खेल्छ ।
विषालु सर्पको मुखको माथिल्लो भागमा दुई वटा विष ग्रन्थी हुन्छन् । सर्पले टोक्दा भित्र प्वाल भएका दुई दाँतका माध्यमबाट विष मानिस वा अन्य जीवको शरीरमा जान्छ । विषालु सर्पले टोकेमा टोकेको स्थानमा दुई वटा दाँतको घाउ देखिन्छ ।
विषालु सर्पले टोकेपछि दुखाईका साथसाथै शरीर झम्म हुन्छ । घाउ सुन्निन्छ र बिरामी हिँडडुल गर्न सक्दैन । पछि निल्न र बोल्न पनि अप्ठेरो हुन्छ । मुटु छिटो चल्ने, सास लिन अप्ठेरो हुने, बान्ता हुने, आँखा राम्ररी नदेख्ने हुँदै पक्षाघात पनि हुन सक्छ । अनि समयमै उपचार नपाए बिरामीको मृत्यु हुने खतरा रहन्छ । सर्पको जाति अनुसार मानिसलाई हानि गर्ने क्षमता भिन्नाभिन्नै छ । सर्पको दुई थरी विष हुन्छ । एक थरी विषले रक्तसञ्चार र अर्को थरी विषले स्नायु प्रणालीलाई असर गर्छ ।
गोमन सर्पको विषले स्नायु प्रणालीमा हमला गर्छ । करेत सर्पको छ मिलिग्राम र गोमन सर्पको १२ मिलिग्राम विष मानिसको ज्यान लिन पर्याप्त हुन्छ । एक चोटि टोक्दा करेतले २० मिलिग्रामसम्म विष र राजगोमनले दुई सय मिलिग्रामसम्म विष छोड्न सक्छ । गोमन सर्पले टोक्दा आधा घण्टाभित्रै मृत्यु हुने सम्भावना धेरै हुन्छ तर सबैले यो पनि बुझ्नु पर्छ सबै सर्प विषालु हुँदैनन् । निकै कम प्रजातिका सर्प मात्र विषालु हुन्छन् ।
नेपालमा बर्सेनि सयौँ मानिसलाई सर्पले टोक्छ । जसमध्ये करिब आठ सय मानिसको मृत्यु हुन्छ । मृत्यु हुनेमध्ये धेरैजसो उपचार नपाएकाले मर्छन् भने केहीको उपचारका क्रममै ज्यान जान्छ ।
गर्मी याममा सर्प सक्रिय हुने भएकाले यस समयमा मानिसले सतर्क रहनु पर्छ । घर, गोठ वरिपरि सफासुग्घर राख्ने, झारपात, झाडी हटाउने तथा भएका प्वाल टालेर सर्प लुक्ने वा बस्ने स्थान बाँकी राख्नु हुँदैन । यस्तै ढोका र झ्यालमा जाली राख्नु पर्छ । राति टर्चलाइट बालेर मात्र हिँड्ने तथा किसानले राति खेतमा जाँदा उज्यालो पार्ने वस्तुबिना जानु हुँदैन । साथै जुत्ता लगाउनु अनिवार्य छ । घर वरिपरि मट्टीतेल र फिनायल छर्कनु पनि सर्पलाई भगाउने एक उपाय हो ।
सर्पले टोकीहालेमा आत्तिनु हुँदैन । आत्तिँदा मुटुको धड्कन तीव्र भएर रक्तसञ्चार बढ्ने हुनाले शरीरमा विष छिटो फैलिन्छ । घाउलाई पोटास पानी वा अन्य एन्टिसेप्टिकले धुनु पर्छ । यी वस्तु उपलब्ध नभएमा सफा पानीले भए पनि राम्ररी धुनु जरुरी छ । घाउमा बरफ लगाउनु राम्रो हुन्छ । घाउभन्दा केही माथि डोरी वा कपडाले बाँध्नु पर्छ तर धेरै कस्नु हुँदैन ।
मुखले विष तान्नु पनि एक प्राथमिक उपचार हो तर तान्ने व्यक्तिको मुखमा घाउ छ भने त्यो विष उसलाई पनि घातक हुन सक्छ । ब्लेडले चिर्दा नसा काटिएर अत्यधिक रक्तस्राव हुन सक्छ । त्यसैले नसा बचाएर वा माथिबाट तलतर्फ चिर्ने विधि पनि चलनमा छ । घाइतेलाई जतिसक्दो चाँडो सर्पको विष मार्ने औषधि उपलब्ध भएको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ । व्यक्ति बेहोस भएमा कृत्रिम श्वासप्रश्वास दिइनु पर्छ । धामीझाँक्रीको भर पर्दा ज्यान जाने सम्भावना उच्च हुन्छ ।
सर्पको विष मार्ने औषधिलाई एन्टिस्नेक भेनम भनिन्छ । यो औषधि बनाउन पहिले स्वस्थ जनावर जस्तै घोडालाई सुईबाट सर्पको थोरै विष दिइन्छ । त्यसपछि त्यो घोडाको शरीरमा सर्पको विषविरुद्ध लड्ने र विषलाई नष्ट पार्ने शक्ति वा एन्टिबडी विकास हुन्छ । त्यसपछि क्रमैसँग विषको मात्रा बढाउँदै लगिन्छ र घोडामा एन्टिबडी अझै बढी विकास हुँदै जान्छ ।
अन्त्यमा त्यो घोडाको प्रतिरक्षात्मक शक्ति यति शक्तिशाली बन्छ कि सर्पको कडा विषले पनि त्यसलाई प्रभाव पार्न सक्दैन । त्यसपछि घोडाको रगत सुईबाट निकालेर रगतलाई जमाएपछि देखिने पहेँलो, पारदर्शी तरल एन्टिबडीयुक्त पदार्थ अथवा सिरमलाई विशेष रूपमा प्रशोधन गरेपछि सर्पको विष मार्ने औषधिका रूपमा तयार हुन्छ ।
अहिलेसम्म पनि एन्टिस्नेक भेनम नेपालमा उत्पादन हुन नसकेको तितो यथार्थ छ । यस औषधिमा नेपाल विशेषतः भारतमाथि निर्भर छ । केही विशेष अस्पतालमा मात्र यो औषधि पाइने हुँदा दुर्गमका मानिस यो औषधि नपाएर मर्नुपर्ने स्थिति छ ।
–युवामञ्च