• १२ वैशाख २०८२, शुक्रबार

दोलखाका ३० हजार विद्यार्थी अन्योलमा

blog

विद्यार्थी, शिक्षक, अभिभावकको खचाखच हुने समयमा सुनसान रहेको सदरमुकाम चरिकोटस्थित कालिन्चोक माध्यमिक विद्यालय । तस्बिर बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, वैशाख १२ गते । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सुरु भएर लामो समय बितिसक्दा पनि भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा पठनपाठन नहुँदा दोलखाका २८ हजार ३४६ विद्यार्थी अन्योलमा छन् । 

सदरमुकाम चरिकोट स्थितको कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र अस्मिन शर्माले चिन्ता व्यक्त गर्दै भन्नुभयो,पढाइ सुरु नहुँदा कहिले विद्यालय खुल्ला भन्ने चिन्ता लागिरहेको छ । पढाइ नहुँदा बरालिने काम भएको छ । पढ्ने रहर सपना बन्ने हो कि भन्ने चिन्ता लागिरहन्छ । 

बिस्तारै सामुदायिकका विद्यार्थीहरू पनि संस्थागत विद्यालयमा भर्ना हुन थालेका छन् । संस्थागत विद्यालयका विद्यार्थीहरू विद्यालय जाँदा आफूलाई नराम्रो लाग्न थालेको छ । आन्दोलनले हामीलाई मात्र विक्षिप्त बनाएको छ । पढाइ कहिले सुरु हुने हो ? ढिला हुँदै गर्दा पढाइ र परीक्षाहरू पनि प्रभावित बन्छन् ।  सरकारले पढाइ हुने वातावरण बनाउनु पर्यो । 

भीमेश्वर नगरपालिका–२ स्थितको राजकुलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत प्रकृति खडकाले गुनासो पोख्दै भन्नुभयो, अहिले विद्यालयमा विद्यार्थी तथा अभिभावकहरूको भर्ना र पढाइमा घुइँचो हुनुपर्नेमा विद्यालयहरू सुनसान बनेका छन् । हेर्दा उराठलाग्दो देखिएको छ । नरमाइलो लाग्छ । पढाइमा ह्रास आउने अवस्था देखिएको छ । सरकारले आन्दोलनप्रति खासै चासो देखाएन । शिक्षकहरू ऐन नआएसम्म विद्यालय नफर्किने भए । समस्या जटिल बन्दै गएको छ । 

भीमेश्वर नगरपालिका–७ स्थितको वीरेन्द्र आधारभूत विद्यालयकी अभिभावक सम्झना भुजेलले भन्नुभयो, विद्यालय खुलेर पठनपाठन नहुँदा भुराहरू बिग्रिन थालेका छन् । कक्षा ६, ३ र नर्सरीमा अध्ययन गर्ने छोराछोरीहरूले शिक्षकहरू आन्दोलनमा रहँदा पठनपाठन गर्न नपाएपछि अभिभावकमा पीडा भएको छ । सरकारले पठनपाठन हुने तुरुन्त वातावरण बनाई देओस् । 

अभिभावकहरू पनि चिन्तित बनेका छन् । नजानिँदो पाराले बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ । सैलुङ गाउँपालिका– ८ स्थितको शारदा माध्यमिक विद्यालयका अभिभावक दीर्घकाल तामाङले भन्नुभयो, सरकारको ठुलो कमजोरी देखिएको छ । जायज मागलाई सम्बोधन गरी आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा पठाउनु पर्छ । लामो समय भयो, अन्यथा विद्यार्थी र अभिभावकको पनि आन्दोलन निम्तिन सक्छ । 

स्थानीय तहहरूले पनि चासो देखाउन थालेका छन् । वैतेश्वर गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणलगायतका काममा ढिला भई विद्यार्थी मारमा परेकाले पालिका भित्रका शिक्षकहरूलाई तुरुन्त आन्दोलनबाट फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । बालबालिकाको पढ्न पाउने हक र उनीहरूको मनोवैज्ञानिक पक्षलाई ध्यान दिन पनि आग्रह गरिएको पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । 

शिक्षा विकास तथा  समन्वय इकाई प्रमुख भरतबहादुर भट्टराइले चिन्ता व्यक्त गर्दै भन्नुभयो, सरकारले छिटै पठनपाठन हुने वातावरण बनाउनु पर्छ । आन्दोलन निकै लामो भइसक्यो । भर्ना अभियान आन्दोलनमै  बितिसक्यो । परीक्षा तथा उत्तर पुस्तिका परीक्षणलाई प्रत्यक्ष असर परेको छ । 

शिक्षा विकास तथा स।समन्वय इकाई दोलखाको अभिलेख अनुसार सामुदायिक विद्यालयमा दरबन्दी, राहत, अनुदान, बाल शिक्षालगायतका दरबन्दीमा एक हजार ९०८ जना शिक्षक कार्यरत छन् । कक्षा १  देखि कक्षा १२ सम्म २८ हजार ३४६ विद्यार्थी अध्ययनरत छन् ।