केदार तिमल्सिना
बनेपा, असार ६ गते । वर्षायाम सुरु भएसँगै काभ्रेपलाञ्चोक भएर पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्ग रातको समयमा बन्द गरिने भएको छ ।
काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका सुरक्षा प्रमुखको बैठकले शनिवार साँझदेखि लागू हुने गरी रातका समयमा यात्रुवहाक र निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले शनिवार साँझदेखि लागु हुने गरी साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गमा यात्रुवहाक सवारी र निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।
“वर्षासँगै विपी राजमार्ग भएर बहने रोसी खोलामा आउन सक्ने बाढीले पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गरेर रातको समयमा भाडा र निजी सवारी सञ्चालनमा रोक लगाएका हौँ, आकस्मिक सेवा र मालवहाक सवारी साधन सञ्चालनमा भने रोक लगाएका छैनौँ” प्रजिअ ढकालले भन्नुभयो ।
उहाँले गत असोजको बाढीका कारण पूर्णरुपमा क्षति भएको विपी राजमार्ग अस्थायी रुपमा सञ्चालन भएकाले वर्षासँगै आउने बाढीले थप क्षति नपु¥योस् भनेर अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले पहिलो चरणमा १५ दिनका लागि उक्त निर्णय गरेको बताउनुभयो । असोज दोस्रो साताको अविरल वर्षाका कारण विपी राजमार्गको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको सडकमा क्षति पुगि जोखिम बढेको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले तीन जिल्लाका सुरक्षा प्रमुखहरुले गरेको बैठकको निर्णय अनुसार शनिवार साँझदेखि विपी राजमार्गमा यात्रुवहाक सवारी साधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । उ
हाँले तत्कालका लागि १५ दिनका लागि रातमा यातायात सञ्चालनमा रोक लगाइएपनि त्यसपछि भने अवस्था हेरेर थप निर्णय गरिने बताउनुभयो । यसैबीच बिहिबार साँझ रोसी खोलामा आएको बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका– ५ लासकोटमा पाँचजना मानिस खोलामा फसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा फसेका मानिसको उद्धार गरेको थियो ।
सुरक्षा टोलीले ओखलढुंगा दुधकोशी गाउँपालिका– ४ घर भई उक्त स्थानमा मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का ट्रीपर चालक मुस्कान तामाङ, तेमाल गाउँपालिका– ५ का निर्माण व्यवसायी सन्जय लामालाई उद्वार गरेको हो । यस्तै तेमाल गाउँपालिका–९ का ट्रीपर चालक रेमन तामाङ र दोलखा भिमेश्वर नगरपालिका –९ का जेसिबी चालक समिर तामाङको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।