मोहनसिंह बुढा
हुम्ला, असार ६ गते । जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह बदर भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षकी बालिकासँग हालै गरिएको विवाह बदर भएको हो ।
उमेर नपुगी बालविवाह गर्ने बालबालिकाहरू खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षीया बालिका र सिमकोट गाउँपालिका–२ का १५ वर्षीय बालक रहेका छन् । उनीहरू दुवै जना विद्यालयमा अध्ययनरत छन् ।
बालविवाह भएको जानकारी प्राप्त भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाको समन्वयमा अभिभावकहरूको उपस्थितिमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको रोहोवरमा बालविवाह बदर गरी बालबालिकालाई सम्झाई अब २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने सर्तमा हाललाई आ–आफ्नो घर फर्काउने सहमति भएको अध्यक्ष रावलले बताउनुभयो ।
शुक्रवार अपराह्न दुवै जनालाई अभिभावकको जिम्मा लगाउँदै घर पठाइएको हो । साथै पालिकामा भएको सहमति अनुसार नभएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ । बालविवाह रोकथामका लागि खार्पुनाथ गाउँपालिकाले गरिएको यो प्रयासले जिल्लामा सचेतना र कानुन कार्यान्वयन दुवै पक्ष सशक्त रूपमा अगाडि बढिरहेको सङ्केत दिएको छ ।
जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासीको भनाइ छ । पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा लागु हुन सकेको छैन ।
बालविवाह गर्नेलाई कानुनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको बुझाइ छ ।