• १३ साउन २०८१, आइतबार

बोलेरो दुर्घटना हुँदा १२ जना घाइते

blog

बाबुराम देवकाटा

सिन्धुलीमाढी, फागुन २५ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१ हत्पतेडाँडास्थित गागन-लङ्गुरखोला भित्री सडकमा बोलेरो दुर्घटना हुँदा १२ जना दर्शनार्थी घाइते भएका छन् ।

प२–०४–००१ च ००५६ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कटुवालका अनुसार घाइते भएका दर्शनार्थी महाशिवरात्रिको अवसरमा लङगुरखोलास्थित मधुगंगा महादेव मन्दिरको दर्शन गर्न महोत्तरीबाट आएका हुन् ।

घाइतेमध्ये महोत्तरी जिल्ला गौसला नगरपालिका–११ निवासी सात जनाको बर्दिबासस्थित जनसेवा अस्पताल र धनुषा जिल्ला मिथिला नगरपालिका–६ निवासी पाँच जनाको सिन्धुलीको भिमानस्थित पोलिक्लिनिकमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

गाडी चालक गौसला नगरपालिका–११ निवासी विनोदकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।